
सानेपा(ललितपुर), १९ पौष । नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानले पनि नदिएको र आफूमा पनि नरहेको नअनधिकृत शक्तिको उपयोग गर्दै प्रतिनिधिसभाको विघटनको लागि गर्नुभएका सिफारिस र त्यसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको विघटन तथा नयाँ निर्वाचनको घोषणाका विरुद्ध देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, ७ सय ५३ पालिका(महा । उपमहा।नगर ।गाउँ समेत) र ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेपाली कांग्रेसका आइतबार(आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्ण य गरेको हो ।
बैठकपछि नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइए अनुसार आगामी पुस २५ गते शनिबारका दिन ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने छ ।
कांग्रेस माघ ३ गते शनिबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेसले आगामी माघ ८ गते बिहीबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुका ६ हजा ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्नेछ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय कार्य भएको जनाउदै यसका विरुद्धमा पौष १३ गते देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम गरिसकेको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने ठहर गरेको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गरिएको पनि बताएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि दोस्रो चरणको सशक्त कार्यक्रम ल्याइएको जनाएको छ ।
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्धमा स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्ने स्वतन्त्रता जिल्लाहरुलाई दिएको छ । त्यस्तै पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई पनि पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्ने स्वतन्त्रता दिइएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानविपरीत प्रतिनिधि सभा विघटन गरी नर्या निर्वाचनको मिति घोषणा भएपछि त्यहि दिन पौष ५ गते पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने, पौष ६ गते सर्वदलीय बैठक आयोजना गर्ने, पौष ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गतेको निर्णयबाट पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरु समेत गरिहेको उल्लेख गर्दै भनेको छ,‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ। ’
क्रियाशील सदस्यताका संबन्धमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकद्वारा गठित “अन्य राजनीतिक दल समायोजन समिति” ले नेपाली कांग्रेस पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको नेपाली कांग्रेस पार्टीमा हुने समायोजन सम्बन्धमा २०७६/११/१९ गतेको बैठकद्वारा निर्णय गरी केन्द्रीय कार्यालयबाट सम्बन्धित जिल्लामा पठाइएका र पठाउने प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुंगो गरे बमाजिम केन्द्रीय कार्यसमितिले पारित गरेको छ ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।