
काठमाडौं, १९ पौष । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ ।
१५ औं बर्ष प्रवेशको अवसरमा बैंकको केन्द्रीय कार्यालय तथा देशभरीका शाखाहरुले आआफ्नो क्षेत्रमा सामाजिक कार्य गरी बार्षिकोत्सव मनाएका छन् ।
२०६३ साल पुस १९ गते कास्की, स्याङ्गजा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी रु। १ करोड ३० लाख चुक्ता पुँजीमा बैंक सञ्चालनमा आएको थियो ।
यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्टविन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १ महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी बाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको छ ।
बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.)मा आधारित प्रविधि हो ।
यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी ९नछोई० सरल तरिकाले पीओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार नै २ हजार रुपैयासम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्डमार्फत पीओएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।
यसैगरी, भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था बैंकले गरेको जनाएको छ ।
मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।