Prakash Adhikari January 3, 2021

 

लमही(दाड.), १९ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ।

दाङको लमहीमा आज भएको फाइनलमा विभागीय क्लब एपीएफलाई ६ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलमा प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो।

एपीएफकी ममता चौधरीले सर्वाधिक ३४ रन बनाएकी थिइन तर पनि सो योगफल विजयको लागि पर्याप्त भएन। यस्तै करुणा भण्डारीले २६ रन र ज्योति पाण्डेले १ रन जोडे पनि अन्यको ब्याट चल्न सकेन।

प्रदेश १ की रुबिना क्षत्री र अलिशा खडियाले २ ।२ विकेट लिँदा संगीता राईले १ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो।

 

प्रदेश १ की अप्सरा बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन भने काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। यसैगरी कप्तान रुबिना क्षत्रीले १८ रन लिइन्। एपीएफकी सीता राना मगरले ३ तथा करुना भण्डारीले १ विकेट हात पारिन्।

प्रदेश १ ले लुम्बिनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने एपीएफले सेमिफाइनलमा सुदुरपश्चिमलाई पराजित गरेको थियो।

Share Now

Leave a comment.