काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि आज भारतको मुम्बई जाँदै हुनुहुन्छ।
पत्नी सीता दाहाललाई लिएर उहाँ ११ बजेको उडानबाट मुम्बई जानुहुने उहाँको सचिवालयले जनाएको छ।
प्रचण्डकी पत्नी सीता दाहाल ०७४ को दशैंअघि गम्भीर बिरामी पर्नुभएको थियो। त्यही साल मंसिर ३ गते उनका छोरा प्रकाशको निधन भएको थियो।
यसअघि २०७५ साउनमा सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो।
सो अस्पतालले सीतालाई लागेको रोग निदान गर्दै उहाँलाई प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो।
२०७५ चैत ३ गते अमेरिकाको जोन हप्किन्स अस्पतालमा पनि उनको उपचार गराइएको थियो।
यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पौषमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठमा समेत उहाँलाई लगियो। तर पनि स्वास्थ्यमा सुधार भएन।
गत बुधबार स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएकी उहाँलाई थप उपचारका लागि आज भारत लग्ने तयारी भएको हो।
पत्नी सीताको उपचारको लागि भारत जानुपरेको हुनाले आज दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रचण्ड उपस्थित हुनुहुने छैन।
नेपालको नेतृत्वमा एक कार्यदल
हिजो बसेको बैठकले विभाजनको विन्दुमा पुगेर दुई समूहमा छुट्टिइसकेको नेकपाको प्रचण्ड नेपाल समूहको केन्द्रीय समितिको बैठकले पार्टीको कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एक कार्यदल गठन गरेको छ।
पार्टीका नवनियुक्त अध्यक्ष नेपालको नेतृत्वमा गठित १०–सदस्यीय कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहनुभएको छ।
‘यसले पार्टी एकीकरणका बाँकी रहेका काम सम्पन्न गर्नुका साथै पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्ने जनाइएको छ । पार्टीको जिम्मेवारी सम्हालेका नेताहरु दुईतर्फ बाँडिएपछि रिक्त रहेका पदमा यो कार्यदलले नेता चयन गर्नेछ। पार्टी विभाजनतर्फ गएपछि पार्टीका बिभिन्न समितिमा अध्यक्ष, सचिव, इन्चार्जको जिम्मेवारी लिएका नेताहरु बाँडिएका छन् ।


















