काठमाडौं, २० पौष । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही जनवरीमा आह्वान गरेको विशेष अधिवेशन रोक्नमागगर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ ।
संघको विधान र प्रचलित प्रावधान विपरीत विधान संशोधनको एजेण्डा पनि घुसाइएकाले उक्तअधिवेशन रोक्नमागगर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराइएको हो ।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन आह्वान गरेकाले त्यसलाई रोक्न माग गरेका हुन् ।
संघका आइसीसी सदस्यहरु चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया), विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले संयुक्त रुपमा नेपाल सरकारसँग विशेष अधिवेशन रोक्न माग गर्दै निवेदन दिनुभएको छ ।
संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती आउँदो जनवरी २३ र २४ का लागि विशेष अधिवेशन तोेकेको निवेदकहरुको दावी छ।
भौतिक रुपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुएल रुपमा गर्न खोजेको र त्यो विधानविपरीत हुने निवेदकहरुको जिकिर छ।
‘२०२१ जनवरी २३ र २४ तारिखमा आयोजन गर्ने भनिएको गैर आवासीय नेपाली संघको भर्चुएल विशेष महाधिवेशन प्रचलित नेपाल कानुन, संघको विधान तथा आम सदस्यहरुको भावना विपरित हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्षलगायत पदाधिकारीहरुलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनवाई नगरेकोले वाध्य भई गैर आवासीय नेपालीसम्बन्धी नियमावलीको २०६६ को नियम १६ (१) बमोजिम अनुगमन गरी नियम १६ (२) बमोजिम निर्देशन दिई सो विशेष महाधिवेशन स्थगित गराई पाउँ’ परराष्ट्र मन्त्रालयमा पेश गरिएको निवेदनमा उल्लेख छ।
सन् २००३ मा स्थापना भएको संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। यसका गतिविधि अनुगमन गर्दै आवश्यक निर्देशन दिने अधिकार मन्त्रालयमा निहित रहेको छ।
निवेदनमा संघको नेतृत्वले घोषणा गरेको विशेष अधिवेशन परराष्ट्र मन्त्रालयले दिएको निर्देशन र शर्तविपरित समेत रहेको दावी गरिएको छ।
‘संघको नियमित अधिवेशन आउन अब करिव आठ महिना बाँकी छ। प्रत्येक दुई वर्षमा हुने नियमित अधिवेशन आउन थोरै समयमात्रै बाँकी रहँदा किन विशेष अधिवेशन गर्नु पर्यो ?’ भन्ने प्रश्न पनि उनीहरुले उठाएका छन्।
संघको विधानमा रहेको परम्परावादी निर्वाचन प्रक्रिया र शैलीलाई विधानबाटै परिमार्जन गर्नुपर्ने अवस्थामा विधान संशोधनका नाममा अर्कैअर्कै विषय अगाडि सारिएको दावी निवेदकहरुको छ ।
निवर्तमान अध्यक्ष भट्ट असन्तुष्ट
संघका निवर्तमान अध्यक्ष भवन भट्टसहित ठूलो समूह वर्तमान कार्यसमितिसंग असन्तुष्ट रहेका छन । उनीहरुले महामारी नियन्त्रणदेखि लगानी भित्र्याउने सम्मका विषयमा के के खास उपलब्धि नभएकोले संघको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति सृजना भएको पनि बताएका छन् ।
पूर्व अध्यक्ष भट्टले एनआरएनएले यसका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुलाई थप बलियो बनाउनुपर्नेमा कमजोर बनाउन खोजिरहेको पनि बताउनुभएको छ ।
केही दिन पहिले आयोजित भर्चुअल कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टले भन्नुभयो ‘एनसीसीहरुसँग धेरै जिम्मेवारी छ, त्यसैले कमजोर नबनाऔं,’।
भट्टका अनुसार अघिल्लो नेतृत्वले थालेका थुप्रै सुधारका कामलाई बेवास्ता गरिएको छ । कतिपय कामलाई बीचमै छाडिएको छ ।
सोही कार्यक्रममा संघका पूर्व सल्लाहकार हरिबोल भण्डारीले संघलाई पक्ष, विपक्ष र अल्पमत र बहुमतको खेलमा पुर्याउन खोजिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
भण्डारीले एनसीसीहरुसँग परामर्श नै नगरी आइसीसीले बलजफ्ती विधान संशोधनको मुद्दा अगाडि बढाएकोमा आपत्ति जनाउदै भन्नुभयो, ‘एनसीसीहरुलाई बलियो बनाए मात्रै आइसिसी बलियो हुन्छ ।’
त्यस्तै, एनआरएन मध्यपूर्वका उपसंयोजक मनोज गोर्खालीले विशेष अधिवेशनको उपादेयतामाथि प्रश्न गर्दै ‘एकै पटक धेरै विषय ल्याउन खोज्दा दुर्घटना हुन सक्ने बताउदै एकांकी ढंगले चल्न खोज्दा एनआरएन पनि विभाजन हुनसक्ने चेतावनी दिनुभयो ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आइसीसीले हरेक विषयमा एनसीसीलाई नियन्त्रण गर्न नहुने सुझाव दिनुभएको थियो ।
कँडेलले अहिले विशेष महाधिवेशन संभव नै छैन भन्दै भर्चुअल विधिबाट गरिने अधिवेशनमा २६ सय प्रतिनिधिलाई सहभागी गराउन प्राविधिक रुपमा पनि संभव नभएको बताउनुभयो ।
नवौं महाधिवेशनमा पारित हुन नसकेका आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्ने नाममा संघले विशेष अधिवेशन आह्वान गर्नु र त्यसैमा विधान संशोधन गर्ने तयारी गरिएपछि संघभित्र विवाद चुलिएको हो ।

अध्यक्ष र महासचिव ढुक्कै
एनआरएनको केही पहिले बसेको बैठकले निर्धारित मितिमा नै विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशन सार्न कानूनी र प्राविधिक अड्चन आउने भएकोले नसार्ने निर्णय गर्दै सहभागीहरुको रजिष्ट्रेशन १० दिन अगाडिबाट गर्ने पनि तय गरिएको थियो । सो बैठकले पहिलो पहिलो धुम्ती ब्लड बैंक भरतपुर नगरपालिकालाई प्रदान गर्ने, एमआईएस र स्मार्ट एनआरएनए प्रोजेक्टलाई व्यवीस्थत गराउन मन केसीलाई प्राविधिक सल्लाहाकार राख्ने,अनलाईन भोटिड.पद्धति विकास गर्ने र महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विधानको व्यवस्था परिर्वतन गर्न विशेष महाधिवेशनमा प्रस्ताव लैजाने विषय पारित गरेको थियो ।

यता महासचिव महासचिव डा. हेमराज शर्माले विशेष अधिवेशन निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रले शनिवार आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना आदान–प्रदान तथा विशेष अधिवेशन’ विषयक अन्तरक्रिया कार्यक्रम डा. शर्माले उक्त कुरा बताउनुभएको हो ।
सदस्यता वितरणमा भएको आर्थिक चलखेलले राष्ट्रिय समितिका निर्वाचनमा सिन्डिकेट सिर्जना गरेका बताउँदै विशेष अधिवेशनमा प्रस्तुत अजेन्डाले त्यस्ता सिन्डिेकट तोड्न सफल हुने बताउनुभएको थियो ।
निर्वाचनमा पैसा र अनावश्यक राजनीतिक प्रभाव रोक्न अत्यावश्यक भैसकेकोले जोखिम उठाएर विधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।
महासचिव शर्माले गैरआवासीय नेपाली संघले अघि सारेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम)लाई कसैले पनि प्रभावित गर्न नसक्ने पनि दावी गर्नुभयो ।
गैरआवासीय नेपाली संघले विश्वभर छरिएका ८३ देशमा रहेका राष्ट्रिय समितिलाई हेरेर नीति बनाउनु पर्ने आवश्यकता औल्याउदै डा. शर्माले भन्नुभयो, ‘अहिलेदेखि नै राष्ट्रिय समितिमा अनलाइनको मतदान सुरु गरे भविष्यमा त्यसलाई अझै व्यवस्थित गरेर लैजान सकिन्छ ।’
उहाँले अहिले प्रस्ताव गरिएको विधानले संस्थाभित्र व्यापक परिवर्तन हुने अपेक्षा गरिएको र परिवर्तनको एजेण्डाबाट पछि नहट्न सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा संघका सचिव गौरीराज जोशीले संघले अघि सारेको एमआईएस रकेट साइन्न नभएको तर्क गर्दै प्रविधिमा कमिकमजोरी भए सुधार गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले स्मार्ट एनआरएनए अन्तर्गत १३ वटा गुण रहेको बताउँदै सदस्यता वितरण र चुनावी प्रकृयामा मात्र ध्यान नदिन आग्रह गर्नुभएको थियो ।
गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा अमेरिकास्थित गैरआवासीय नेपाली संघका क्षेत्रीय समिति, कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष डा. केशव पौडेल, खगेन्द्र जिसी, संघका सल्लाहकार हरिबोल भण्डारीलगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।


















