Prakash Adhikari January 5, 2021

 

जनकपुरधाम(धनुषा), २१ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को संसदीय दलले दलका नेताबाट प्रधानमन्त्री के.पी. ओली पक्षीय सत्यनारायण मण्डललाई हटाएर पार्टीका कार्यकारी अध्यक्ष र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल पक्षीय नेता शत्रुधन महतोलाई निर्वाचित गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई दलको नेताबाट हटाएको हो।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन्। नेकपामा आएको विभाजनसँगै १९ जना सांसद प्रचण्ड–नेपाल समूहमा छन्।

पहिलेको संसदीय दलको नेता मण्डल प्रधानमन्त्री ओली समूहको प्रदेश २ का इन्चार्ज समेत हुनुहुन्छ।

मण्डललाई कारबाही गरी प्रचण्ड नेपाल समूहले दलको नयाँ नेतामा प्रदेश सांसद सत्रुधन महतोलाई चयन गरेको छ।

संसदीय दलको बैठकले आफूलाई सर्वसम्मत रुपमा नेता चयन गरेको महतोले बताउनुभयो।

पूर्व एमालेबाट निर्वाचित प्रदेश सांसद महतोका अनुसार हस्ताक्षर गर्ने १८ सांसद र एक जना सचेतक गरी १९ प्रदेश सांसद अविश्वासको प्रस्ताव लिएर मंगलबार सभामुख सरोज यादव कहाँ पुग्नुभएको थियो।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले मण्डललाई कारबाही गरेको हो।

Share Now

Leave a comment.