
काठमाडौं, २३ पौष । लोक सेवा आयोगले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
आयोगले अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी र दुई सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको छ ।
सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न लोक सेवा आयोगलाई जिम्मा दिएको थियो ।
लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीहरुबाट प्राप्त दरखास्त र अवधारणापत्रको आधारमा अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको संक्षिप्त सूची तयार पारेको थियो ।
व्यवसायीक कार्ययोजना, अन्तर्वार्तालगायत परीक्षामा उत्कृष्ट आएकोले आयोगले अध्यक्षमा रेग्मी तथा सदस्यहरुमा रिमाल र महर्जनलाई सिफारिस गरेको हो ।
आयोगका पदाधिकारी नियुक्तिको लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर पारित हुनु बाँकी रहेको छ ।
शिक्षा ऐनमा शिक्षका सेवा आयोगमा एक अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य रहने प्रावधान छ । आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । पदाधिकारीहरु पुनः नियुक्ति हुने व्यवस्था छ ।
आयोगको अध्यक्ष पदका लागिलक्ष्मीराम पौडेल (काठमाडौं), विनोद केसी (ललितपुर) र खगराज पौडेल (बागलुङ)ले पनि प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यसैगरी सदस्य पदमा भक्तबहादुर ढकाल (सुर्खेत) गीता शिवाकोटी खरेल (काठमाडौं) झमकप्रसाद शर्मा (भक्तपुर), पवित्रा सुवेदी (सुर्खेत) ले पनि आवेदन दिनुभएको थियो ।
आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल शिक्षक सेवा आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।
सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।
अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।