Prakash Adhikari January 7, 2021

 

काठमाडौं, २३ पौष । क वर्गको वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशनल ले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी बुधबार उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुवै बैंकले आ—आफ्नो विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुने जनाएका छन् ।

दुवै बैंकका सञ्चालकहरुले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

२०७७ साल पौष २२ गते सम्मको तथ्यांकको आधारमा  प्राप्ति पश्चात बैंकको कुल शाखा १ सय ६३ पुग्नेछ ।

सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् ।

हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको सिटिजन्स बैंकले तिनाउ मिसन प्राप्त गरेपछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
यसका साथै एकीकृत बैंकको निक्षेप करिव १ खर्ब २४ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा करिब १ खर्ब २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Share Now

Leave a comment.