
काठमाडौं, २३ पौष । नेपालको राजधानी काठमाडौंको पर्यटकीय केन्द्र ठमेलको व्यापारिक र पर्यटकीय केन्द्रको रुपमा विकास गरिएको छायाँ सेन्टरको व्यापारिक गतिविधिमा असर पार्ने कुनै गतिविधि नगर्ने सम्बन्धमा नेपाल प्रहरीको रोहबरमा भएको लिखित समझदारीलाई भागवत्नरसिंह प्रधानको पक्षले तोडेको छ ।
युनिट्राभका महासचिव रामबहादुर श्रेष्ठका अनुसार गत पौष २१ गते मंगलबार महानगरीय प्रहरी वृत्त स्वयम्भूमा मजदूरहरुका प्रतिनिधि र भागवत नरसिंह प्रधानको बीचमा दुवै पक्षले एकर्काको शान्ति सुरक्षामा असर पार्ने कार्य नगर्ने र छायाँ सेन्टरको आर्थिक एवम् व्यापारिक गतिविधिलाई पनि असर नपुर्याउने सहमति भएको थियो ।
तर सो समझदारीको मसी सुक्न नपाउदै छायाँ सेन्टरको विरोधको नेतृत्व गर्दै आउनुभएका भागवत नरसिंह प्रधानको तर्फबाट सामाजिक सञ्जालमा सूचना र विचार सम्प्रेषित गर्ने प्रेमराज सिल्पाकारले सोही साँझ ५ बजेर ५६ मिनेटमा दिउँसो महानगरीय प्रहरी वृत्तमा भएको सहमति उल्लेख गर्दै पुस १५ गते बुधबार मजदूरहरुले ज्ञापन पत्र दिनु गल्ती भएको निश्कर्ष निकालेको स्टाटस पोष्ट गर्नुभएको छ । त्यसको भोलिपल्ट बिहान ५ः२९ मा अभियान्ता प्रधानले शान्तिपूर्वक बाँच्न पाउने अधिकार हनन भएको भन्दै मानवअधिकार आयोग र जिल्ला प्रशासन कार्यालयमा निवेदन गरेको उल्लेख गर्नुभएको छ भने बिहान ८ः ५२ मा छायाँदेवी कम्प्लेक्स भत्काएर कमल पोखरी पुननिर्माण गर्नु कानुनी र ब्यवहारिक रुपमा न्याय हो भन्ने लेख्नुभएको छ । सो स्टाटसमा नेवारी साप्ताहिक लहनामा प्रकाशित छायादेवी कम्प्लेक्स भत्काउनु पर्छ भन्ने आशयको समाचार पनि संलग्न गरिएको छ ।
युनिट्राभका महासचिव श्रेष्ठका अनुसार स्वयम्भू प्रहरी कार्यालयमा दुवै पक्षका बीचमा छायाँ देवी कम्प्लेक्स निर्माणको विषय अदालत पुगिसकेको हुनाले अदालतको आदेश वा फैसला नआउदासम्म दुवै पक्षले एकअर्काविरुद्ध गाली गलौज,होच्याउने,उत्तेजित पार्ने र स्थानीय बासिन्दा तथा छायाँ सेन्टरमा व्यवसायरत तथा कार्यरत उद्यमी र मजदुरहरुमा भय त्रास उत्पन्न हुने, व्यवसायिक गतिविधिमा असर पुग्ने वा शान्ति सुरक्षामा कुनै असर पर्ने खालका गतिविधि टेलिफोनका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट वा लेखेर वा बोलेर वा भौतिक उपस्थितिमा विरोध प्रदर्शन गरेर नगर्ने सहमति भएको थियो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका सबइन्स्पेक्टर रमेशप्रसाद पाण्डेले दुवै पक्षबीचमा एकर्काप्रति भय र त्रास हुने तथा शान्ति सुरक्षामा आँच आउने काम नगर्ने सहमति भएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘मजदूरहरुले घरमा गएर ज्ञापनपत्र बुझाएकोले मलाई असुरक्षा भयो भन्ने निवेदन भागवत्नरसिंह प्रधानले दिनुभएको रहेछ । हामीले दुवै पक्षलाई बोलाउदा उहाँ त जुलुसैसहित आउनुभयो । दुवै पक्षको कुरा सुनेपछि विवादको विषय अदालत पुगेको हुनाले त्यहाबाट फैसला नआउदासम्म कुनै पनि पक्षले एकर्काविरुद्ध फोनमा, बोलेर वा लेखेर वा सामाजिक सञ्जालको प्रयोग गरेर घृणा फैलाउने, होच्याउने वा उत्तेजित गर्ने र शान्ति सुरक्षामा असर पर्ने काम नगर्ने तथा ब्यापारिक गतिविधिमा असर नपार्ने सहमति भएको छ ।’
सई पाण्डले त्यसपछि दुवैतर्फबाट कुनै गुनासो नआएको पनि बताउनुभएको छ ।
नेवार समुदायसहित नेपालका प्रतिष्ठित व्यापारीहरुको अर्बांैको लगानी रहेको छायाँ सेन्टरमा स्थापित अन्तराष्ट्रिय स्तरको होटल एलफ्ट, सिनेमा घर, क्यासिनो,स्वदेशी तथा विदेशी ब्राण्डका पसलहरुमा झण्डै १२ सय मजदुरहरु कार्यरत रहेका छन् ।
छायाँ सेन्टरका विरुद्धमा भागवतनरसिंह प्रधानको नेतृत्वमा संगठित रुपमा चलाइएको गतिविधिहरुले यस क्षेत्रमा व्यवसाय गर्ने उद्यमीहरुको आत्मविश्वास कमजोर हुने, व्यवसायिक गतिविधि सुस्त हुने र त्यसका कारण मजदुरहरुले रोजगारी गुमाउने अवस्था आएपछि गत पुस १५ गते मजदुरहरुको तर्फबाट एक प्रतिनिधि मण्डलले प्रधानको निवासमा नै गएर मजदूरहरुको रोजीरोटीमा आँच आउने र बेरोजगार बन्नुपर्ने स्थिति सिर्जना नगरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
सो ज्ञापन पत्रमा अदालतमा विचाराधीन विषयमा अनावश्यक दवाव र प्रभाव नपार्न पनि अनुरोध गरिएको थियो ।