Prakash Adhikari January 7, 2021

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २३ पौष(बीबीसी) । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ।

संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।

संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ।

इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

ट्रम्पको भनाई
संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै ‘ज्यानुअरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताए पनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोड्नुभएको छैन् ।

‘म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भए पनि ज्यानअरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ’, उहाँले आफ्नो प्रवक्ताको ट्विटरमा प्रकाशित सन्देशमा भन्नुभएको छ।

ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ।

‘मैले सधैँ भनेको छु कि हामी कानुनी मत मात्रै गणना गराउने कानुनी सङ्घर्ष जारी राख्नेछौँ। यो राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने सङ्घर्षको सुरुवात मात्रै हो’, ट्रम्पले लेख्नुभएको छ।

जर्जियामा दुई सिनेट सीटमा डेमोक्र्याट

यसअघि जर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ।

राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराउनुभएको हो।

सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद्‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ।

राफेल वारनक र जोन ओस्अफ

राफेल वारनक र जोन ओस्अफ

जर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ।

दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जर्जियामा डेमोक्र्याटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो।

वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुनुहुन्छ।

 

Share Now

Leave a comment.