Prakash Adhikari January 8, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २४ पौष(बीबीसी) । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्।

अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताउनुभएको छ ।

सभामुख न्यान्सी पेलोसीले यदि उहाँलाई नहटाइए उहाँमाथि महाअभियोग लगाउन सकिने बताउनुभएको छ।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ।

हालसम्म केही रिपब्लिकनले मात्र उहाँलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्।

उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन्। संसद भवनमा गोली लागेर जीवन गुमाएकी महिला अमेरिकी वायु सेनामा कार्यरतअश्लि बबिट भएको बताइएको छ ।

आलोचित प्रहरी

प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ।

प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन्।

हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिनुभएको छ।

सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने बताएका छन्।

निर्वाचित राष्ट्रपति जो बाइडनको भनाई

राष्ट्रपति- निर्वाचित जो बाइडनले भन्नुभएको छ, ‘यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन्।’

यूएस क्यापिटल प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताएका छन्।

यद्यपि पेलोसीले चाहिँ उहाँलाई राजीनामा गर्न आह्वान गर्नुभएको छ।

क्यापिटल भवन

अमेरिकी संसद्‌भित्र प्रदर्शनकारी

डीसी प्रहरी यूनियनले त्यस्तो घटनाका लागि क्यापिटल प्रहरी जनशक्ति र स्रोतका हिसाबले कमजोर रहेको बताएको छ।

उक्त घटनालाई लिएर ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले राजीनामा दिएका छन्।

त्यसरी राजीनामा दिने पछिल्ला उच्च अधिकारीमा शिक्षा मन्त्री वेट्से डिभोट र यातायातमन्त्री एलेन चाओ हुनुहुन्छ ।

ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्।

चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताउनुभएको छ।

ट्रम्पले यही ज्यानुअरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ। राष्ट्रपति ट्रम्पले अहिले भने आफूले शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई सघाउने बताउनुभएको छ ।

तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो।

उहाँले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गर्नुभएको छ।

उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन्।

त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा ८ जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ।

त्यो अहिले नै सम्भव देखिएको छैन।

मेरिल्यान्डका रिपब्लिकन गभर्नरले पनि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने बताउनुभएको छ।

बुधवार अमेरिकी संसद् भवनमा हमला भएपछि फेसबुक र ट्विटरले ट्रम्पलाई निश्चित समय केही पनि लेख्न नमिल्ने गरि प्रतिबन्ध लगाइदिएका थिए।

अर अब फेसबुकले अनिश्चितकालका लागि ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको छ।

फेसबुकका प्रमुख मार्क जकरबर्गले एउटा वक्तव्य निकालेर त्यसको जानकारी दिनुभएको हो।

उहाँले ट्रम्पले संसद् भवनमा भएको हमलाको निन्दा गर्नुको साटो समर्थकहरूको प्रशंसा गरेकाले उनको पोस्ट हटाउनु परेको उल्लेख गर्नुभएको छ।

 

Share Now

Leave a comment.