काठमाडौं, २४ पौष । चन्द्रागिरीमा केबल कार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले आज (पौष २४ गते)देखि सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले प्रति कित्ता रु १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशन ल्याएको हो।
त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणले दिएको आवेदनमा गोलाप्रथाबाट वितरण गरिने छ ।
पछिल्लो समय आईपीओमा साढे १० लाख लगानीकर्ताले आवेदन दिन थालिसकेका छन्। कम्पनीले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले मात्र न्यूनतम १० कित्ता सेयर पाउनेछन्।
सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेब तथा एपमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधीमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ।
चन्द्रागिरी हिल्सलाई इक्रा नेपालले इक्राएनपीआईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय राफसाफको सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।


















