Prakash Adhikari January 9, 2021

 

काठमाडौं, २५ पौष । नेपाली कांग्रेसले आज देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारका विरुद्धमा प्रदर्शन गर्ने भएको छ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभाको असंवैधानिक विघटन, भ्रष्ट्रचार, कोरोना नियन्त्रणको असफलता जस्ता विषयलाई कार्यकर्ता र मतदातासामु लैजाने उद्देश्यले आजको विरोध सभाको आयोजना गरेको हो ।

नेपाली कांग्रेसको पौष १९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण निन्दनीय कार्य भएको निश्कर्ष निकालेको थियो ।

कांग्रेसले प्रतिनिधिसभाको विघटनलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएको बताएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, देशमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि २५ गते शनिबारका दिन ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, सर्वसत्तावाद, भ्रष्टाचार, कुशासन, अकर्मण्यता र असक्षमता जस्ता विषयलाई आम नेपालीको सामु पुर्याउने अभिप्रायले नेपाली कांग्रेसले माघ ३ गते शनिबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुमा र माघ ८ गते बिहीबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो

नेपाली कांग्रेसले सरकारका असंवैधानिक कदम विरुद्ध जनमत सिर्जना गर्नका लागि जिल्लाहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आपसी समन्वयमा स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्ने स्वतन्त्रता पनि दिएको थियो ।
नेपाली कांग्रेसले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गरिरहेको जनाएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रत्यासित रुपमा पौष ५ गते प्रतिनिधिको विघटन गरेपछि सोही दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकमार्फत यसको सशक्त विरोध गरेको थियो । त्यसपछि पौष ६ गते सर्वदलीय बैठक आयोजना गरी उक्त असंवैधानिक कार्यको बैठकमा सहभागी सबै दलहरुले विरोध गर्ने निर्णय गराएको थियो ।

गत पौष ७ गते प्रारम्भ भएको केन्द्रीय कार्यसमिति बैठकले पौष ९ गते प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदम र कम्युनिष्ट सरकारको भ्रष्टाचार,कुशासन,कोरोना नियन्त्रणको असक्षमता विरुद्ध पौष १३ गते संघीय प्रतिनिधिसभाको १ सय ६५ निर्वाचनमा विरोध प्रदर्शन गर्ने निर्णय गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।

नेपाली कांग्रेसले सरकार विरोधी विरोध प्रदर्शनलाई निर्वाचन क्षेत्र केन्द्रित गर्दै लगेकोले आज दिउँसो हुने विरोध प्रदर्शनमा केन्द्रीय सदस्य, सांसदहरु र संघीय संसद र प्रदेश सभामा उम्मेदवार भएका नेताहरु आआफ्ना निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सरिक हुनुहुने भएको छ । जिल्लाका निर्वाचन क्षेत्रमा जान असमर्थ शीर्ष र केन्द्रीय नेताहरु भने राजधानी काठमाडौंमै आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने भएको छ।

सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ बुढानीलकण्ठमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ भने अन्य नेताहरुले पनि पायक पर्ने प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

Share Now

Leave a comment.