
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १ माघ(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि त्यहाँको प्रतिनिधिसभाले महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ । यो ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको अभियोग लाग्ने पहिलो राष्ट्रपति बन्नुभएको छ।
राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।
गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उहाँविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।
सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ।
Donald Trump becomes first president in US history to be impeached twice, and faces trial in Senate over Capitol riots https://t.co/9VbhPqX5sP
— BBC Breaking News (@BBCBreaking) January 13, 2021
महाभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सदस्य छन्।
तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो । विपक्षमा १ सय ९७ जना रिपब्लिकन सांसद देखिए।
तल्लो सदनले सन् २०१९ मा पनि उहाँविरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्।
सिनेटले उहाँलाई आरोपमुक्त गरिदिएको थियो।
अब माथिल्लो सदनमा सुनुवाइ
अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ।
न्यान्सी पेलोसी
त्यो सङ्ख्या पुर्याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ।
कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ।
न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा रहेको उल्लेख गरेको छ।
पुनः उम्मेद्वारीको कुरा
के अमेरिकी राष्ट्रपति ट्रम्प महाभियोग पारित भएपनि पुन राष्ट्रपति पदको उम्मेद्वार हुन पाउनु हुन्छ त ? हो, पाउँनुहुन्छ। किन कि महाभियोगले मात्र उहाँलाई राष्ट्रपतिको उम्मेद्वार बन्न रोक्दैन।
त्यै पनि सिनेटमा हुने सुनुवाइले उहाँमाथि लगाइएको आरोप पुष्टि गर्नै बाँकी छ।
दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन।
तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ।
ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चासो पाइन्छ। कतिपय रिपब्लिकनहरूले महाभियोग नलगाएर राष्ट्रपति बन्न रोक्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए।
यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो।
पेन्सले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि डेमोक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन्।