Prakash Adhikari January 14, 2021

काठमाडौं, १ माघ। नेपाल बैंक लिमिटेडको ६१ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । वैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट भर्चुअल रुपमा आयोजना गरिएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नुको साथै सञ्चालक समितिमा तीन जनाको निर्वाचन पनि गरेको छ ।

साधारण सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी ।११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने रु १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४ सय २४ रुपैयाँ बराबरको बोनस शेयर र ४ (चार) प्रतिशतका दरले हुन आउने ४५ करोड १३ लाख १२ हजार ८ सय ८ रुपैयाँ नगद लाभांश ( कर समेत) र वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६÷७७ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

साथै, बोनश सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले त्यसलाई १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित भएको छ ।
साथै, साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन समेत सम्पन्न गरेको छ । बैंकले दिएको जानकारी अनुसार सर्वसाधरण सेयर धनीको तर्फबाट विवेकशमशेर ज.ब.रा विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओमकृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित हुनुभएको छ ।

 

Share Now

Leave a comment.