Prakash Adhikari January 14, 2021

काठमाडौं, २ माघ । कोरोनाको कहरबाट थलिएको नेपालको सिनेमा उद्योगलाई पुनर्जीवन दिन माघे संक्रान्तिको मौका पारेर बिहीवारबाट शीर्ष अभिनेता शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ ।

दिपेश सापकोटा निर्देशित यो फिल्मलाई मल्टिप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म १ घण्टा ३५ मिनेट लामो छ ।

फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।

https://youtu.be/DwO6AcrTLRg

यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र निर्माता दिनेश दर्शनधारीका छोरा सम्ब्यकले डेब्यू गर्नुभएको छ । फिल्मका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुनुहुन्छ ।

शिव श्रेष्ठ, यशोदा राई र दिनेश दर्शनधारी निर्माता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहनुभएको छ।

फिस्टेल मुभिज प्रा.लि.को ब्यानरमा निर्मित एक्सन लभस्टोरी जनराको यस फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गरेको छ ।

फिल्मको पोष्टर र शीर्ष गीतको पौष २१ नेपालको पर्यटकीय केन्द्र ठमेलभित्रको पर्यटकीय र व्यापारिक केन्द्रको रुपमा उदाउदै गरेको छायाँ सेन्टरमा सार्वजनिक गरिएको थियो। “म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु” बोलको शीर्ष गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर र वसन्त सापकोटाको संगीतमा सजिएको छ । यसको पहिलो टिजर २०७५ जेठमा नै सार्वजनिक भएको थियो भने दोस्रो ट्रिजर २०७७ को कार्तिका सार्वजनिक गरिएको थियो ।

कोरोना भाइरसका कारण ९ महिनासम्म बन्द भएका सिनेमा हल गत महिनाको पुष १० गतेबाट सञ्चालनमा आएका थिए । तर, दर्शकहरुको उल्लेख्य उपस्थिति नरहने आशंकामा निर्माताहरुले नयाँ फिल्म नदिँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य थिए ।

https://youtu.be/YTHsj-12_qA

नेपाली सिनेमाका शीर्ष नायक शिव श्रेष्ठलाई नेपाली कलाकारलाई अन्तराष्ट्रिय मञ्चमा स्थापित गराउने नायकका रुपमा पनि लिने गरिन्छ । संयुक्त लगानीका फिल्महरुमा अभिनय गर्नुभएका श्रेष्ठ पाकिस्तान,श्रीलंका,बंगलादेश र जापानका चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले पाकिस्तानमा २५ भन्दाबढी फिल्ममा अभिनय गरी ५ वटा अवार्ड पनि जित्नुभएको छ ।

नयाँ फिल्म नभएकै कारण दर्शकको उपस्थिति कम भएको बताउने हल सञ्चालकलाई नयाँ फिल्मले नयाँ ऊर्जा थपिदिएको छ। चलचित्र जगतले ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गर्ने जोखिम उठाएकोमा निर्माताहरुको प्रशंसा गरेका छन् ।

 

 

Share Now

Leave a comment.