कीर्तिपुर(काठमाडौं), २ माघ । शुक्रबारदेखि आरम्भ भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको छ।
समुह ‘ए’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।
गण्डकीको लागि समिर कंडेलले सर्वाधिक ५० रन, बिपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ रन तथा दिपक डुम्रेले २६ रन बनाएका थिए।
आर्मीको बलिंगमा राजेश पुलामीले सर्वाधिक ५ विकेट लिए । उनले ९ ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए। यो पुलामीको व्यक्तिगत उत्कृस्ट स्पेल समेत हो। त्यस्तै भिम शार्कीले ३ विकेट लिए भने आर्मीको लागि डेब्यु गरेका आकाश चन्दर रोहित पौडेलले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो।
नेपाल आर्मीको लागि कप्तान बिनोद भण्डारीले शतकीय योगदान दिए। करियरकै पहिलो शतक बनाउने क्रममा भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का मद्दतले अविजित १११ रन बनाए।
आर्मीको लागि राजु रिजालले ४५ रन, लोकेश बमले ४२ रन, राजेश पुलामीले ३८ रन, भिम शार्कीले १५ रन, हरि कृष्ण झाले १४ रन योगदान दिए।
गण्डकी प्रदेशको बलिंगमा बिपिन खत्री र बिशाल पौडेलले समान दुई दुई विकेट तथा दिपेश खत्री र चन्द्र पौडेल ले समान एक एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत शनिवार टियु मैदानमा समुह ‘ए’ अन्तर्गतनै हुने एक मात्र खेलमा विभागीय टोलि एपीएफ क्लब र प्रदेश(१ ले प्रतिस्पर्धा गर्नेछन्।