काठमाडौं, २ माघ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा बस्नुभएका सहित चार न्यायाधीशहरूले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भेटेको भनेर सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ।
शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो।
समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको बताइएको थियो।
राष्ट्रिय अनुसन्धान विभागको हवाला दिदैं अनलाईन पोर्टलहरुले वरिष्ठतम न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काले २६ पुसको राति राति ८ देखि ९ बजेर १० मिनेटसम्म र २७ गते दिउँसो १ : २० बाट २ :४५ सम्म न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना प्रधान मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको उल्लेख गरेका थिए ।
प्रतिनिधिसभाको मुद्दा परेर झगडिया भैसक्नुभएका प्रधानमन्त्रीसंग भेट गरेको समाचारको खण्डन गर्दै सर्वोच्च अदालतले भनेको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचारम सम्प्रेषण हुनु दुखद र खेदजनक विषय हो। अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ। यसप्रकारका कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल पनि हुनाले कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ।’
यस्तो खबर आएपछि संवैधानिक इजलाशमा रिट निवेदकहरुका तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले यस्तो भेटघाटले न्यायाधिशको आचार संहिता, न्यायिक मर्यादा, न्यायपालिकाको तटस्थता र न्यायिक स्वच्छतामा असर पर्ने र प्रतिनिधिसभाको अंसंवैधानिक विघटन जस्तो गम्भीर संवैधानिक मुद्दामा दबाब र प्रभाव पर्ने कुरा उठाउनुभएको थियो ।