
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले आज प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा षड्यन्त्रमूलक ढंगले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभाको विघटन विरुद्ध देशभरका ७ सय ५३ पालिका केन्द्रहरुमा प्रदर्शन गर्न लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यस कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गर्न लागेको हो।
नेपाली कांग्रेसले पौष १३ गते देशका १ सय ६५ वटै संसदीय निर्वाचन क्षेत्रमा, पौष २५ गते प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका असंवैधानिक कदम,भ्रष्टाचार र अकर्मण्ताप्रति केन्द्रीत रहेर विरोध प्रदर्शन तथा आमसभा गरिसकेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पौष ९ गतेको निर्णय अनुसार कांग्रेसले आज ७ सय ५३ वटै पालिका(महानगर,उपमहानगर र नगर तथा गाउँ पालिका)हरुमा विराध प्रदर्शन गर्दै छ भने यसपछि माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ ।
सभापति देउवाको अपिल
पालिकास्तरीय विरोध प्रदर्शन कार्यक्रमको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका सबै तहका नेता,कार्यकता,मतदाता,समर्थक र शुभेच्छुकहरुसहित समस्त लोकतन्त्रवादीहरुलाई आजको कार्यक्रममा सहभागी भएर कम्युनिष्ट सरकारको सर्वसत्तावाद, असंवैधानिक र अलोकतान्त्रिक कदमसहित भ्रष्टाचार,कुशासन र जनविरोधी कार्यहरुको विरोध गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभएको छ, ‘पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । माघ ३ गते ७ सय ५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’
संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले भन्नुभएको छ, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’