Prakash Adhikari January 16, 2021

 

कीर्तिपुर(काठमाडौं), ३ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले प्रदेश नम्बर १ लाई १ सय ३५ रनको भारी अन्तरले पराजित गरेको छ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सशस्त्रले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ४२.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो।

प्रदेश १ को लागि मिनास थापाले सर्वाधिक १८ रन, फिर्दोश अन्सारीले १७ रन, दिपेश कंडेलले १६ रन, दीपक पासवानले १३ रन तथा जोशक खड्काले अविजित १२ रनको योगदान दिए।

खेलमा सशस्त्रका अविनाश बोहराले सर्वाधिक ५ विकेट लिएका थिए । उनले १० ओभरमा ६ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। बसन्त रेग्मीले २ विकट लिए । उनले १० ओभरमा ३ ओभर मेडन गर्दै मात्र १३ रन खर्चिए। शरद भेसावकर र किशोर महतोले समान १ ।१ विकेट लिएका थिए ।
एपीएफको विष्फोटक ब्याटिड.

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो।

 

एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ५९ रन बनाएका थिए । उनले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै बसन्त रेग्मीले ४० रन, सन्दीप जोराले ३० रन, कप्तान शरद भेसवाकरले २० रन तथा सुबास खकुरेल र किशोर महतोले समान १९ ।१९ रन बनाएका थिए।

सशस्त्रको विभागीय टोलीलाई रोक्ने क्रममा प्रदेश १ का फिर्दोश अन्सारी, दिपेश कंडेल, हेमन्त राई र सर्वन यादवले समान २ ।२ विकेट तथा जोशक खड्का र सोनु मण्डलले समान १ ।१ विकेट लिएका थिए।

समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार दुईवटा खेल संचालन हुनेछन्। टियु मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश बीच तथा मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछन्।

Share Now

Leave a comment.