शारदानगर(चितवन), ३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पी.शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधान सभाले बनाएको संविधान अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको संयुक्त षड्यन्त्रमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध शनिवार आयोजना गरेको देशभरका पालिकास्तरीय विरोध सभालाई चितवनको शारदानगरमा उक्त आरोप लगाउनु भएको हो ।
व्यवस्थापिका र न्यायालयलाई काबूमा राखेर देशमा अधिनायकवादी शासन गर्ने अभिप्रायले संविधानले नदिएको अधिकार प्रयोग गरेर संविधानको चीर हरण गरिएको बताउदै कांग्रेसका वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘म सम्मानित न्यायाधीशहरूलाई आग्रह गर्छु, संविधानको अक्षर र भावना अनुरुप जनता र राष्ट्रलाई न्याय दिनुपर्यो ।’
नेपालले लोकतन्त्रको स्थापना र पुनस्थापनाको राजनीतिक लडाईमा नै ७० बर्षभन्दा बढीको समय लागेकोले नेपाल विश्वका अन्यदेशको सरह विकास हुनबाट बञ्चित उल्लेख गर्दै उहाँले २०७० सालमा निर्वाचित दोस्रो संविधानसभाले संविधान बनाउदा राजनीतिक स्थायित्वको लागि संविधानको धारा ७६ को उपधारा १ देखि ७, धारा ८५ र धारा १०० व्यवस्था गरेकोतर्फ उहाँले संकेत गर्नुभयो ।
उहाँले राजनीतिक स्थायित्वको सिद्धान्त अंगीकार गरेको नेपालको संविधानको मौलिक चरित्रलाई जोगाउन अनुरोध गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री र राष्ट्रपतिका राष्ट्रघाती कदमलाई सच्याउन तपाईंहरूले गम्भीररूपमा संविधान पढ्नु आवश्यक छ। संविधान बाहिरबाट दिइने फैसलाले नेपालको सर्वोच्च अदालतको गरिमा र मर्यादा बढाउदैन ।’
उहाँले कम्युनिष्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएकोले संसद जस्तै अदालतलाई ुतह लगाएरु अधिनायकवादी शासन स्थापना गर्न प्रधानमन्त्री उद्दत भएको आरोप पनि लगाउनुभयो ।
उहाँले संविधानमा पहिलेको जस्तो प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्ने प्रावधान नै नरहेको भन्दै सरकार प्रमुख र राष्ट्रप्रमुख दुई जना मिलेर संविधानकै अपहरण गरेको आरोप लगाउनुभयो।
कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना हुँदैन भनेर अदालतलाई प्रभावमा पार्न खोजेको पनि बताउनुभयो ।
‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको काउन्टरमा यो आन्दोलन आरम्भ गरेको हो । ओली सरकारको म्याद अब धेरै छैन।’, नेता पौडेलले बताउनुभयो ।
उहाँले संविधानलाई जोगाउन कार्यकर्तालाई एक हुन आग्रह गर्दै भन्नुभयो,’केपी ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि आक्रमण गरेका छन । लोकतन्त्र बचाए चुनावमा भाग लिन पाइरहन्छौं, लोकतन्त्र नै नरहे चुनावको केही अौचित्य रहन्न।’
उहाँले आफ्नो दलका नेता, कार्यकर्ताहरूलाई लोभ नगरी संसद पुनर्स्थापनाका लागि संघर्षमा उत्रन आग्रह गर्दै भन्नुभयो, राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिन लालयित प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई त सत्ता हस्तान्तरण गर्न चाहेनन भने अरु दललाई दिने कल्पना नगर्न सुझाउदै भन्नुभयो,’तालुमा आलु फल्ने भयो भनेर लोभिदा लोकतन्त्र पनि अपहरण होला होश गर्नुहोला।’


















