Prakash Adhikari January 16, 2021

 

काठमाडौं, ३ माघ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ।

जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंसी नगरपालिकामा स्थापना गरेको सो शिक्षालयलाई झण्डै ५० लाख मूल्य बराबरको अत्याधुनिक खालका टर्वाइन र अटोमेशन उपकरण दिएको हो।

शेषकान्त फाउण्डेशनद्वारा धादिड.मा सञ्चालित शिक्षालयमा दक्ष प्राविधिकसम्बन्धी तालिम लिनेहरुका लागि ती उपकरणहरुले सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताउनुभएको छ।

विदेशमा सिकेको ज्ञान र पुँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनीमार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँको कथन छ।

सो शिक्षालयबाट एक व्याच उत्तीर्ण भइसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भएपनि आगामी वैशाखदेखि अर्को समूहको तालिम शुरु गरिने फाउण्डेशनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले बताउनुभयो।

गैरआवासीय नेपाली संघ(एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवर्द्धन गर्ने अभियानअन्तर्गगत नेपाल स्वतन्त्र विद्युत् उत्पादक संघ(इपान)सँगको सहकार्यमा तालिम सञ्चालन गरिने जानकारी उहाँले दिनुभएको छ। (रासस)

 

Share Now

Leave a comment.