Prakash Adhikari January 16, 2021

बीरगञ्ज(पर्सा) । हिमालयन डिष्टिलरी लिमिटेड (एचडीएल)को २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार वीरगंजको पटेलनगरस्थित उद्योग परिसरमा सम्पन्न भएको साधारणसभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १०० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको गत वर्षको पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेकोमा साधारणसभाले १९ करोड २८ लाख रुपैयाँ बराबरको बोनस पारित गरेपछि यो ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

आव २०७५र७६ मा कम्पनीले ५३ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । तर गत चैत ११ देखि असारसम्म लागेको लकडाउनका कारण कम्पनीको उत्पादन र बिक्री वितरण प्रभावित भएपछि खुद नाफा झन्डै ७ करोड घटेर गत आवमा ४६ करोड ६९ लाख मात्र भएको थियो ।कम्पनीले कर्मचारीलाई खुद नाफाको १० प्रतिशत अर्थात् ६ करोड ९६ लाख रुपैयाँ बराबरको बोनस पाउने छन । बोनस ऐनअनुसार उक्त रकम सबै कर्मचारीलाई उनीहरुको तलब स्केलका आधारमा बाँडिनेछ ।

हिमालयन डिष्टिलरीले रोयल ट्रेजर, गोल्डेन ओक, ब्ल्याक ओक लगायत ब्रान्डमा मदिरा उत्पादन गर्दै आएको छ । अहिले नेपालमा मध्यम मूल्यका मदिरामध्ये गोल्डेन ओक सबैभन्दा बिक्री हुने ब्रान्ड हो ।

 

Share Now

Leave a comment.