काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपां)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री के. पी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने मनशासयले स्पष्टीकरण सोधेको छ।
पार्टीका स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो स्पष्टीकरणको पत्र बुझाएनुभएको छ ।
‘उहाँले पार्टी विधान र संविधानविपरीत गतिविधि गरिराख्नुभयो। हामीले केन्द्रीय कमिटीको बैठकबाट उहाँलाई अध्यक्ष पदबाट हटाएको थियौँ’, पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो, ‘पार्टीले एकपटक जानकारी गराउँदा समेत उहाँले आफ्नो गतिविधिलाई नरोकेको कारणले साधारण सदस्यबाट हटाउनबाट पनि किन नहटाउने भन्ने विषयमा छलफल भएअनुसार पत्र बुझाएको छ।’
पार्टीको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालद्वारा हस्ताक्षर गरिएको स्पष्टीकरण पत्रमा जवाफ फर्काउनका लागि तीन दिनको म्याद दिइएको छ।
‘अध्यक्षद्वयको पत्रमा उहाँलाई तीन दिनको म्याद दिइएको छ। उहाँले हामीलाई चित्तबुझ्दो जवाफ दिनुभएन भने पार्टी आवश्यक कारवाही प्रक्रिया अघि बढछ’, नेकपा नेता पाण्डेले भन्नुभयो ।