
मूलपानी(काठमाडौ), ५ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई २ विकेटले पराजित गरेको छ।
मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ८ विकेट गुमाएर ३७ ओभरमा पूरा गर्यो।
गण्डकीको लागि ओपनर अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५/ ३५ रन तथा अभिषेक थापाले अविजित १३ रन योगदान दिए।
प्रदेश १ को बलिंगमा मिनाश थापा र शुभांकर उरावले समान २ / २ विकेट तथा दिपेश कंडेल र हेमन्त राईले समान १/ १ विकेट लिए।
एकै ओभरमा बिशालको ह्याट्रिक
यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश १ ले २७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २ रनको योगफल तयार गरेको थियो।
प्रदेश १ को लागि कप्तान सिद्धान्त लोहनीले सर्व्धिक २४ रन बनाए भने मिनास थापाले २२ रन, शुभान्कर उरावले १२, दिपक पासवानले ११ तथा दिपेश कंडेलले १० रन योगदान दिए।
खेलमा ५० रनमा मात्र १ विकेट गुमाएको प्रदेश १ ले योगफलमा थप ५२ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो।
प्रदेश १ लाई सानो योगफलमा सामन्त गण्डकी प्रदेशका देब्रे हाते स्पिनर बिशाल पौडेल र सुबाश भण्डारीले समान ४ / ४ विकेट लिए भने बिपिन खत्रीले २ विकेट लिए।
२८ औं ओभरमा बलिंग गर्ने क्रममा बिशाल पौडेलले ओभरको दोश्रो बलमा रञ्जन मगरलाई क्याच आउट, तेश्रो बलमा मनोज तामांगलाई एलबिडब्लु तथा चौथो बलमा हेमन्त राईलाई पनि एलबिडब्लु आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
गण्डकी प्रदेश अघिल्लो खेलमा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो भने एपीएफसंग पराजित भएको प्रदेश १ को यो लगातार दोश्रो हार हो।