
जेनेभा(स्वीजरल्याण्ड), ६ माघ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गर्नुभएको छ।
टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताउनुभएको छ।
त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने चेतावनी उहाँले दिनुभएको छ ।
चरम नैतिक सङ्कट
डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताउनुभएको छ।
कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ।
गेहब्रेयससले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताउनुभयो।
सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै गेहब्रेयससले भन्नुभयो, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ, विश्व नैतिक विफलताको डिलमा पुगेको छ ,अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।’
आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘अन्ततस् यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।’
संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उहाँले बताउनुभयो ।
हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्।
सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्।
‘मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड(१९ का खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्’, डा टेड्रोसले भन्नुभयो।
हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्।
यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस्।
यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्।
‘हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ’, डा टेड्रोसले भन्नुभयो।
इजरेलको खोप अभियान सबैभन्दा द्रुत
कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ।
इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ।
सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ।
तर यसको आधिकारिक पुष्टि गरिएको छैन।
इजरेल सरकारका अनुसार उसले फाइजरलाई दिएको आँकडाले कोभिडबारे विश्वव्यापी अनुसन्धानलाई सघाउ पुग्नेछ तर आलोचकहरूले चाहिँ गोपनियता तथा नैतिकताका चिन्ता व्यक्त गरेका छन्।
साथै धनी देशहरूलाई उपलब्ध अनुचित फाइदालाई पनि यसले उजागर गरेको बताइएको छ।
हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ।
क्यानडाको पनि आलोचना भएको छ। उसले प्रत्येक क्यानडेलीलाई पाँच पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ।
डिसेम्बरमा प्रतिक्रिया दिँदै क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री क्यारिना गुल्डले ती आरोप अस्वीकार गर्दै खोपको आपूर्ति नै नभइकन यस्ता कुरा गर्नु यथार्थपरक नहुने बताउनुभएको थियो।