काठमाडौं, ६ माघ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले मंगलबार चीनको ल्हासामा परीक्षण उडान गरेको छ ।
नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो । परीक्षण उडान एच ९ ९६ H9-96 ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । यहाँ विश्वभरबाट बर्सेनि उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न जान्छन् । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा नियमित हवाई उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ ।
उपाध्यक्ष क्याप्टेन हाओ दिले को नेतृत्वमा वरिष्ठ क्याप्टेनहरु परीक्षण उडानमा संलग्न रहनुभएको एअरलाइन्सले जनाएको छ । चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैध उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने बताएको छ ।
परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः माथिल्लो उचाइका लागि उडान भर्न एच ९ का नाममा दर्ता भएको एअरबसको नवीनतम् न्यारोबडी जहाज ए ३१९–११५ प्रयोगमा ल्याएको छ । १ सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ ।
यो जहाजले अधिकतम १४ हजार ५ सय फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भन्नुभएको छ, “हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तोे माथिल्लो उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरु सुरक्षा, टिम भावना र विजयी भावनाको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।”
सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय भएको बताउनुभयो ।
उहाँले यस उडानले माथिल्लो उचाइका हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालना सुनिश्चित गर्दै सीमापार सम्बन्ध सुदृढ पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।


















