
काठमाडौं, ६ माघ । नेपाल युवा परिषद्मा सरोज बानियाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
परिषद्ले जनाए अनुसार यही माघ ३ गते शनिवार ठमेलको छायाँ सेन्टरमा अवस्थित होटल एलफ्टमा भएको नवौं बार्षिक साधारण सभाले सरोज बानियाको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्वाचन गरेको हो ।
नयाँ कार्य समितिमा अध्यक्षमा सरोज बानिया,उपाध्यक्षमा सुदर्शन बिडारी, महासचिवमा बिनय हुमागाई,कोषाध्यक्षमा श्रीकृष्ण पुडासैनी, कार्यक्रम संयोजक किशोर न्यौपाने र सदस्यहरुमा श्रीयास रौनियार,आरती मोक्तान लामा, रश्मी गिरी, रुचिरा महत र इशा पौडेल निर्वाचित हुनुभएको छ ।
उद्योग,वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला वि.क.को प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पर्यटन व्यवसायी सुमन पाण्डे र कृष्ण अर्याल, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, सुवर्णा वस्नेत र अनुसन्धानकर्ता लालमणि वाग्लेले देशको निर्माणमा युवाहरुको भूमिका र नेपाल युवा परिषद्ले गर्नुपर्ने कामका बारेमा मन्तव्य राख्नुभएको थियो ।
२०६९ सालमा स्थापना भएको राष्ट्रिय युवा परिषद् नेपालका सात वटै प्रदेश र ६० भन्दाबढी जिल्लामा फैलिएको छ । यसमा ३ हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन् ।
उद्यमी युवा समृद्ध देशको मन्त्र लिएको नेपाल युवा परिषद्ले आफ्ना प्रदेश र जिल्ला समितिहरुमार्फत युवाहरुलाई स्वरोजगार र उद्यममा प्रेरित गर्न विभिन्न तालिम र सहयोग गर्दै आएको छ । यसले प्रदेश र राष्ट्रिय स्तरमा युवा सम्मेलनको आयोजना गरी नेपाली युवाहरुको आवश्यकता, चाहना र त्यसको परिपूर्तिका उपायका सम्बन्धमा सार्थक छलफल आयोजना गराएको छ । सन २०१९ मा यसले एशियाली युवा सम्मेलनको पनि सफलतापूर्वक आयोजना गरेको थियो ।
परिषद्का नवनिर्वाचित अध्यक्ष बानियाले नेपाली युवाहरुको विदेश पलायन रोकी उनीहरुको क्षमतालाई देशको निर्माणमा लगाउने चुनौतीपूर्ण कार्यमा अगाडि बढिरहेको परिषद्लाई देशका ७७ जिल्लामा विस्तार गरेर समृद्ध नेपाल बनाउने अभियानलाई साकार पार्न नयाँ कार्यसमिति समर्पित रहने बताउनुभएको छ ।