Prakash Adhikari January 20, 2021

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेल हाल्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

बुधबार बिहान राजधानीको होटल याक एण्ड यतिमा सम्पादकहरूसँग गरिएको अन्तरक्रियामा उहाँले सो आरोप लगाउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको स्वामित्वमा रहेको ललिता निवासको जग्गा सरकारी भएको काइते प्रतिवेदन तयार पारेर सो प्रकरणमा आफ्नो नाम षडयन्त्रपूर्वक जोडेर ओलीले आफूलाई फसाउन खोजेको र राजनीतिक जीवन समाप्त पार्न खोजेको आरोप लगाउनुभएको हो ।

‘ओलीले मलाई एक महिनामा म तपाईंहरूलाई सरप्राइज रिपोर्ट दिन्छु भन्नुभएको थियो,’ नेता नेपालले भन्नुभयो, ‘त्यो भनेको ललिता निवास जग्गा प्रकरणमा मलाई फसाउन खोजिएको रहेछ।’
प्रधानमन्त्री ओलीको षडयन्त्रबाट पहिलेदेखि पीडित रहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले अहिले त्यसमा प्रचण्ड पनि जोडिन आइपुगेको उल्लेख गर्नुभयो।

‘म त ओलीको स्थायी शत्रु नै थिएँ,’ नेता नेपालले भन्नुभयो, ‘अहिले त्यो सूचीमा प्रचण्डजी पनि जोडिनुभएको छ।’
नेता नेपालले २०७१ सालमा के.पी.ओली नेकपा एमालेको अध्यक्ष भएपछि पार्टीको पनि ओरालो दिन सुरू भएको उहाँले बताउनुभयो। उहाँले प्रधानमन्त्री ओलीमा व्यक्तिगत इष्र्या, प्रतिशोध, अहंकार र व्यक्तिबादी प्रवृत्ति विद्यमान रहेकोले सामूहिक भावनाको कदर गरेर अगाडि बढ्न नसकेको बताउनुभयो ।
,‘ओलीले रगत खकार डिएनए चेक गरेर मात्रै आफ्नो एसम्यान मात्रै लिन्छन्। पूर्व एमालेमा पनि हामीहरू ओली प्रवृत्तिको विरोधमा उत्रिएका हौँ। पार्टी र सरकारबीचको सम्बन्ध सुधार भएन, हामीले कुनै काममा हस्तक्षेप गरेका छैनौं।’ नेता नेपालले बताउनुभयो।

‘उहाँ एकाधिकारवादी भएपछि समस्या भयो। संसदमा देश डुब्न लाग्यो माझी बचाइदेउ भनेपछि तारो म बनिहाले। सिस्टमलाई व्यवहारिक बनाउन आवश्यक छ। सिस्टम स्थापित गर्नुपर्छ। पार्टीको सबै काम पार्टी कार्यालय हुनुपर्छ। धुम्बराही जान खोज्दा ताला लगाइयो त्यसैले पेरिसडाँडा गयौँ हामी पार्टी कार्यालयको बिषयमा लडाइँ गर्ने पक्षमा छैनौं।’ उहाँले बताउनुभयो।

नेकपाका नेता नेपालले प्रधानमन्त्री ओलीले साइबर सेना र अरिंगालहरु जम्मा पारेर देशमा विध्वंश गर्न लागेको बताउदै त्यसलाई रोक्न पत्रकारहरुले सत्य तथ्य जनतासामु सार्वजनिक गरिदिनु पर्ने पनि उहाँले बताउनुभयो ।

सम्पादकहरुसंगको अन्तरक्रियामा नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले नेपाली जनताले साढे सात दशकको अथक संघर्ष र बलिदानले ल्याएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितको संविधानलाई क्षतविक्षत पारेकोले अब उहाँसंग एकता र सहकार्य गर्न नसकिने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा विघटनका सम्बन्धमा अदालतमा परेका रिट निवेदनमा संविधान निर्माताहरुको मनशाय, संविधानको अक्षर र भावना अनुरुप सर्वोच्च अदालतबाट फैसला आउने विश्वास व्यक्त गर्दै जनताको अधिकारको पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्ना मत जाहेर गर्न सम्पादकहरुलाई आग्रह गर्नुभएको थियो ।

Share Now

Leave a comment.