
काठमाडौं, ८ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभाको असंवैधानिक विघटन, दुई तिहाईको दुहाई दिंदै यो कार्यकालमा भएका भ्रष्टाचार र अकर्मण्यताबारे आम जनतालाई सचेत बनाउन नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा शान्तिपूर्ण विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ।
वडावडामा शान्तिपूर्ण र्याली निकालेर वडा केन्द्रमा नेपाली कांग्रेसले विरोध सभाको आयोजना गरेको थियो । नेपाली कांग्रेसका स्थानीय वडा समितिद्धारा आयोजित विरोध सभामा ती वडाहरुमा रहेका नेपाली कांग्रेसका विभिन्न तहका नेता एवम् कार्यकर्ता, भातृ एवम् शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवम् सदस्यहरुले सहभागिता जनाउनुभएको थियो ।
देशव्यापी वडास्तरीय विरोध प्रदर्शन सम्पन्न भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै कार्यक्रममा व्यापक जनसहभागिता जुटाएर शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा नेपाली कांग्रेसका सबै तहका नेता, कार्यकर्ता,भातृसंस्थाका पदाधिकारी, शुभेच्छुक संस्थाका पदाधिकारी, शुभेच्छुक र समर्थक तथा मतदातासहित कार्यक्रममा सहभागी नागरिकसमाजका अगुवा र समस्त लोकतन्त्रवादीहरुलाई धन्यवाद दिनुभएको छ ।
बिहिबार साँझपख एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभएको छ,’के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको छ । नेपाली कांग्रेसको आयोजनामा देशभरका ६, हजार ७ सय ४३ वडाहरुमा आज भएको विरोध प्रदर्शनमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु ।’
कांग्रेस सभापतिले भन्नुभएको छ, ‘गाउँ/नगर वडा कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।’
कांग्रेस सभापति देउवाले विरोध कार्यक्रमका तस्वीरहरु खिचेर सामाजिक सञ्जालमा पोष्ट गरी नेपाली कांग्रेसको गतिविधिलाई विश्वब्यापी गराउने युवाहरुलाई पनि विशेष धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु ।’
नेपाली कांग्रेसका सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु¥याउनु हुने पत्रकारहरूलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।