Prakash Adhikari January 23, 2021

मुलपानी(काठमाडौं), १० माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ।

जितपछि लुम्बिनी समुह ‘बि’ को अंकतालिकामा ४ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान ४ अंक रहेको पुलिस नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। लगातार तेश्रो हार पछि सुदूरपश्चिमको सेमीफाइनल पुग्ने सपना समाप्त भएको छ।

शनिवार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको ६५ रनको समान्य लक्ष्य लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाएर भेटायो।

खेलमा लुम्बिनीका सौरभ खनालले अविजित १८, प्रकाश केसीले अविजित १७ तथा कृष्ण कार्कीले १५ रन बनाए।

लुम्बिनीलाई रा्ेक्ने क्रममा सुदूरपश्चिमको बलिंगमा शेर मल्लले २ तथा बिनोद लामाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमै समेटिएको थियो।

सुदूरपश्चिमको लागि नारायण जोशीले सर्वाधिक १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै १७ रन खर्चिए। अनिल खरेल र बिक्रम भुसालले समान २ विकेट तथा सन्दिप सुनार र दिपेन्द्र रावतले समान १ विकेट लिए।

 

Share Now

Leave a comment.