
भीमदत्त नगर(कञ्चनपुर), १० माघ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना रहेको बताउनुभएको छ।
शनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा महामन्त्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको हो ।
‘कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने हो, अहिले हामी त्यसैका लागि संघर्ष गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
महामन्त्री कोइरालाले संसद पुनर्स्थापना नभए पनि तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको जिकिर गर्नुभयो।
उहाँले नेकपा औपचारिक रुपमा फुटिनसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने नहुने स्पष्ट नरहेको बताउनुभयो।
उहाँले अहिलेको राजनीतिक परिस्थितिका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको बताउनुभयो। उहाँले त्यसका लागि अहिले क्रियाशील सदस्यताको नामावली संकलन गर्न कार्य भइरहेको जानकारी पनि दिनुभयो।
‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उहँले भन्नुभयो, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’
मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो। रासस