
मस्को(रुस), ११ माघ(बीबीसी) । रुसमा राष्ट्रपति पुटिनका जेलमा रहेका विरोधी नेता एलेक्सी नभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरू गिरफ्तार गरिएका छन्।
प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ।
गत आइतवार जर्मनीबाट देश फर्कनुभएका नभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उहाँका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजन गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन्।
Video of Lyubov Sobol, a #Russia activist being detained in Moscow as she was addressing protestors. She’s an ally of Navalny: pic.twitter.com/BJddd8uqQm
— Joyce Karam (@Joyce_Karam) January 23, 2021
नभाल्नी र पुटिन
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुनुहुन्छ।
उहाँ भ्रष्ट्राचार विरोधी अभियानकर्ता समेत हुनुहुन्छ।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न खोज्नुभएका नभाल्नीलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।
नडराई बोल्ने ब्लगरका छवि बनाउनुभएका नभाल्नीलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उहाँका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका छन्।
गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भयो। त्यसका लागि उहाँले पुटिनको प्रशासनलाई दोष लगाउनुभयो।
क्रेमलिनले पुटिनको संलग्नता अस्वीकार गर्छ। तर नभाल्नीको आरोपलाई केही खोज पत्रकारहरूको अनुसन्धानले सही भएको देखाउँछ।
नभाल्नी
क्रेमलिन किन डराउँछ ?
बीबीसीका मस्कोस्थित सम्वाददाता स्टिभ रोसेनवर्ग भन्नुहुन्छ, ‘लामो समयसम्म नभाल्नीलाई रुसी अधिकारीहरूले वास्तै गरेनन्। उहाँ मात्र एक ब्लगरको छविमा हुनुहुन्थ्यो केहीले उहाँलाई पढ्थे।’
‘तर हालैका घटनाहरूले अर्को चित्र देखाउँछ। पहिले नभाल्नीलाई स्नायु विष दिएर मार्ने कोसिस गरियो र रुसले विषको बारेमा अनुसन्धान गर्नेभन्दा उनलाई गिरफ्तार गरेको छ।’
‘नभाल्नीलाई जेल हालेपछि अधिकारीहरू उनका समर्थकहरूलाई दबाव दिइरहेका छन्। क्रेमलिनको सबैभन्दा ठूलो डर भनेको सत्ता परिवर्तन हुनसक्ने जनआन्दोलनको हो।’
‘अहिले त्यस्तो हुने देखिएको छैन तर रुसको आर्थिक समस्या बढ्दो छ र कुनै बेला नागरिकको परिवर्तनको केन्द्र विन्दुमा नभाल्नी हुन सक्छन्।’
‘अनि अब यो व्यक्तिगत झगडा बनेको छ। नभाल्नीले पुटिनको दरबार भन्ने भिडिओ सार्वजनिक गरेका छन् जसमा उनले पुटिनले गैरकानुनी ढङ्गले खर्वौँ पर्ने सम्पत्ति थुपारेको आरोप लगाएका छन्।’
गिरफ्तारीको घटनाक्रम
महिनौँपछि जर्मनीबाट मस्को फर्किएका नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।
म सही छु भन्ने मलाई थाहा छ। मलाई कुनै डर छैन’, मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भन्नुभएको थियो।
विरोध
उहाँका वकिललाई साथमा जान दिइएन।
यसअघि आइतवार उहाँको विमान अवतरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।
अन्य कैयौँ अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।
गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।
त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी अचेत हुनुभयो।
उहाँलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।
नभाल्नीका प्रवक्तालाई प्रदर्शनसम्बन्धी कानुन तोडेकोमा गिरफ्तार गरिएको छ
अन्य को गिरफ्तार ?
नभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई गिरफ्तार गरिएको छ।
उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो।
सोबोललाई रिहा गरिएपनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ।
अन्य सहरमा पनि नभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ।
नभाल्नीको श्रीमती युलियाले ‘आफ्नो लागि, नभाल्नीको लागि र आफ्नो बच्चाहरूका लागि, हाम्रो समान मूल्य र मान्यताका लागि’ मस्कोमा प्रदर्शनमा सहभागी हुने जनाउनुभएको छ।