विराटनगर(मोरड.), ११ माघ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना नै नेपाली कांग्रेसको आधिकारिक लाइन भएको बताउनुभएको छ।
गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नभएको बताउदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘यो संविधानलाई भत्काउन खोजिँदैछ, हामी दिँदैनौ, संघर्ष गर्छौं । प्रतिनिधिसभा पुनर्स्थापना गर भन्छौं ।’
नेता पौडेलले भने केन्द्रीय कार्यसमितिले संसद विघटनलाई असंवैधानिक भनेकाले त्यही पार्टीको लाइन भएको बताए । उहाँले नेपाली कांग्रेस कानूनको शासन मान्ने भएकोले संविधानको अक्षर र भावना अनुरुप चल्ने पनि बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभाको पुनस्थापनाको विषयमा पार्टी एकमत रहेको उल्लेख गर्दै भन्नुभयो,‘पार्टीभित्र दुई लाइन छ भन्नुहुन्छ साथीहरु । कहाँ छ अर्को लाइन ? यहीँ लाइन हो कांग्रेसको । कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय हो यो ।’
उहाँले कांग्रेस आफ्नो सिद्धान्तमा अडिग रहनुपर्ने आवश्यकता औल्याउदै अहिले पार्टी नेतृत्वको सामु ठूलो परीक्षा आएको बताउनुभयो ।
‘सारा जनताले हेरिरहेका छन्, बुद्धिजिवीहरुले हेरिरहेका छन्, कांग्रेसले आफ्नो सिद्धान्तमा अडिन्छ कि अडिन्न ? यही लाइनमा सबै हिड्ने कि नहिड्ने ? यो लाइनमा जो हिँड्दैन, त्यो जान्छ ’ उहाँले भन्नुभयो


















