
मूलपानी(काठमाडौं), ११ माघ । लुम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।
मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशसँग बराबरी भएपछि सेमिफाइनलमा पुगेको हो। खेल बराबरीमा समाप्त भएपछि दुवै टिमले १ । १ अंक बाडेका थिए ।
अंक बाडिएपछि बाग्मतीले ४ खेलबाट ७ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको छ । लुम्बिनीले ४ खेलबाट ५ अंक जोडेको छ । लुम्बिनीले सेमिफाइनल पुग्न आगामी खेलमा नेपाल प्रहरीको विभागीय टिम प्रदेश २ सँग पराजित हुनुपर्नेछ ।
पुलिस र प्रदेश २ बीच समूहको अन्तिम खेल सोमबार हुनेछ ।
आजको खेलमा बाग्मतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो।
लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१।४१ रन बनाए। यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए।
लुम्बिनीलाई रोक्ने क्रममा बाग्मतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए भने रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १ । १ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। बाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए।
आदिलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए। यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र नन्दन यादवले ११ रनको योगदान दिएका थिए।
वाग्मतीलाई रोक्ने क्रममा लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए। कृष्ण कार्की र सन्दीप सुनारले २ । २ विकेट लिए।