
काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसहितको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
आइतवार पार्टीको कार्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो।
स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बैठकले ओलीले पार्टीले मागेको स्पष्टीकरणको जबाफ नदिएको र पार्टीविरोधी काम गरेको ठहर गर्दै त्यस्तो निर्णय गरेको हो।
पार्टीको निर्णयबिना प्रतिनिधिसभा विघटन गरेको लगायतका विषय उठाउँदै उक्त समूहले ओलीसँग स्पष्टीकरण सोधेको थियो।
स्थायी समितिको आइतबारको बैठकले पछिल्ला दिनहरूमा आयोजना गरिएका विरोधका कार्यक्रमको समीक्षा गरेको र चाडै सङ्घर्ष समितिको बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रमहरूको घोषणा गर्ने निर्णय गरेको शर्माले बताउनुभएको छ।
बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ ।
स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।
बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गर्नुभएको थियो । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ ।
भोलि नै संघर्ष समितिमार्फत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।