Prakash Adhikari January 25, 2021

 

मूलपानी(काठमाडौं), १२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै नेपाल प्रहरीको विभागीय टिम सेमीफाइनल प्रवेश गरेको छ।

समूह ‘बी’ बाट समूह विजेताको रुपमा यस अघिनै ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेश सेमीफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा अब नेपाल प्रहरीको टिमले समूह ‘ए’ को विजेताको तथा बागमतीले समूह ‘ए’ को उपविजेताको सामना गर्नेछ।

समूह ‘ए’ बाट सशस्त्र प्रहरीको टिम र नेपाली सेनाको टिम बीचको खेल जित्ने टिम विजेता र हार्ने टिम उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

प्रदेश २ भने सबै ४ वटा खेलमा पराजित हुन पुग्यो।

मूलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले दिएको १ सय ७० रनको लक्ष्य नेपाल प्रहरीको विभागीय टिमले ६ विकेट गुमाएर ३८ ओभरमा भेटायो।

पुलिसको जितमा विकेटकिपर ब्याट्सम्यान अनिल साहले सर्वाधिक अविजित ४७ रन बनाए। यस्तै कुशल भुर्तेलले ४३, दिपेन्द्र ऐरी र अमित श्रेष्ठले समान १७ रन, सुनिल धमलाले १३ तथा मन्जित श्रेष्ठले अविजित १२ रन योगदान दिए।

प्रदेश २ को बलिंगमा बिबेक यादब र कुमार थापाले समान ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। पिच भिजेकाले खेल ढिला सुरु हुँदा ४७ ओभरमा घटाइएको थियो।

प्रदेश २ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ५३ रन योगदान दिए । हिमांशु दत्ताले १६, आदिल अन्सारीले १५ रन, सुरज कुर्मीले १३ रन, रभी सिंह र बिशाल सुश्लिंगले समान १२ रन योगदान दिए।

प्रदेश २ लाई रोक्ने क्रममा नेपाल प्रहरीको बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए भने सागर ढकालले २ तथा पवन सर्राफले १ विकेट लिए।

Share Now

Leave a comment.