
कीर्तिपुर(काठमाडौं), १२ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल सशस्त्र प्रहरीको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।
सशस्त्र प्रहरीले समुह चरणको ४ वटै खेलमा जित दर्ता गरेको छ। नेपाली सेनाको टिमले भने ३ जित र १ हार सहित उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा बुधबार सशस्त्र प्रहरीको टिम र नेपाल प्रहरीको विभागिय टिमले प्रतिस्पर्धा गर्नेछन् भने दोश्रो सेमीफाइनलमा बिहिबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको टिमले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली सेनाको टिमले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २ सय ३४ रन बनाउन सक्यो।
नेपाली सेनाको टिमको लागि ओपनर अनिल मण्डलले सर्वाधिक ४५ रन बनाए। राजेश पुलामीले ३३ रन, रोहित पौडेलले ३० रन, बिक्रम सोबले २८ रन, भिम शार्कीले २७ रन, लोकेश बमले २१ रन, शाहब आलमले अविजित २० रन तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए।
सशस्त्र प्रहरीको बलिंगमा कमल सिंह ऐरीले ३ विकेट, भुवन कार्कीले २ विकेट तथा अविनाश बोहराले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको सशस्त्रको टिमले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।
एपीएफको लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए। यस्तै सुबास खकुरेलले ३८, सन्दिप जोराले २८, अमर सिंह रौटेलाले २६, शरद भेसावकरले २४ रन तथा बसन्त रेग्मीले २० रन योगदान दिए।
नेपाली सेनाको विभागीय टिमको बलिंगमा हरिबहादुर चौहानले सर्वाधिक ५ विकेट लिए भने शाहब आलमले २ तथा आकाश चन्द, बिक्रम सोब र सुशन भारिले समान १ । १ विकेट लिए।