
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथको पूजा गरेर उन्मुक्ति नमिल्ने बताउनुभएको छ ।
मंगलबार बिहान सामाजिक सञ्जालमा केन्द्रीय सदस्य डा.कोइरालाले लेख्नुभएको छ, ‘देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति पाइदैन।’
देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन रहेका नागरिक समाज माथि वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि पुग्दैन।त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै।
सरकार,नागरिक समाजसँग क्षमा माग।— Dr Shekhar Koirala (@Shekharnc) January 26, 2021
प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरेकै दिन सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो।
सो घट्नामा एक दर्जनभन्दा बढी नागरिक अगुवा घाइते थिए । घाइतेहरुको उपचार जारी रहेको बताइएको छ।
‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेख्नुभएको छ, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै।’
उहाँले ‘सरकारलाई नागरिक समाजसँग क्षमा माग्न पनि अनुरोध गर्नुभएको छ ।