
काठमाडौं, १३ माघ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सभापति देउवा निवास बूढानीलकण्ठमा सोमबार भएको भेटवार्तामा संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपतिले शासनको बागडोर सम्हालेपछि उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको थियो।
भेटमा कांग्रेस सभापति देउवा र राजदूत बेरीबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो।