
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दैछ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा विघटन पछिको अवस्था, पार्टीले सञ्चालन गरेको आन्दोलन र त्यसको निरन्तरता, मध्यावधि निर्वाचनको संभावना र तयारी तथा पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा समीक्षा गरी उपयुक्त निर्णय लिइने जनाइएको छ ।
केन्द्रीय समिति बैठक अघि हिजो पार्टी कार्यालय सानेपामा दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले नेपाली कांग्रेसको अगुवाईमा संविधान सभाबाट निर्माण भएर नेपाली कांग्रेसले प्रस्तावित गरेका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट संविधानसभामार्फत जारी भएको नेपालको संविधानको रक्षा सर्वोपरी रहेको बताउदै त्यसका लागि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
तर सभापति शेरबहादुर देउवानिकट नेताहरुले भने निर्वाचनमा जाँदा पार्टीलाई फाइदा हुने भएकोले त्यसलाई उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिइरहेका छन्।
पौडेल पक्ष र कृष्ण प्रसाद सिटौला पक्षले भ्रातृ संगठनहरुलाई पनि परिचालन गरेर थप आन्दोलनका कार्यक्रम तय गर्नुपर्नेमा सभापति देउवालाई दबाब दिनथाल्नुभएको छ।
पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए। नेताहरुले संसद विघटन असंवैधानिक भएकाले निरंकुश बन्दै गएका कम्युनिष्ट प्रधानमन्त्रीलाई संविधानको दायरामा ल्याउन आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन चर्काइहाल्ने मुडमा हुनुहुन्न । उहाँले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने र दबाब पर्ने गरी कार्यक्रम सञ्चालन गर्न रोकेकोले त्यसको लाभ संविधान कुल्चेर यो व्यवस्थालाई धरासायी बनाउन अग्रसर भैरहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पुग्न गएको छ ।
संविधानलाई कुल्चेर बढिरहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले भने आफ्ना हरेक भाषणमा अदालत र निर्वाचन आयोगलाई प्रभावित पार्ने गरी अभिव्यक्तिहर दिंदै आउनुभएको छ ।