Prakash Adhikari January 27, 2021

काठमाडौं, १४ माघ । प्राणघातक कोरोना भाइरसविरुद्धको खोप अभियान नेपालमा पनि आजदेखि सुरु हुनेभएको छ । मित्रराष्ट्र भारतबाट अनुदानस्वरुप आएको १० लाख मात्रा खोप पहिलो चरणमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सरसफाईकर्मी,सुरक्षाकर्मी,विरामीको ओसारपोसारमा सक्रिय एम्बुलेन्स चालक र कोरोनाका सक्रिय बिरामीहरुलाई दिइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियानको भर्चुअल शुभारम्भ गरेपछि टेकु अस्पतालबाट खोप अभियान सुरु हुने भएको छ । नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गरिएको टेकु अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी र अस्पतालमा संक्रमितको उपचारमा खटिने डा. अनुप बाँस्तोलाले पहिलो खोप लगाउने हुनुभएको छ।

सरकारले खोप अभियानको प्राथमिकता सूची पनि तयार गरेको जनाएको छ । प्राथमिकता अनुसार सातै प्रदेशका ६२ वटा अस्पतालमा खोप लगाइने सूचीमा परेका स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउने छन् । काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।

काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहनेछन् ।

यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहनेछन् । उहाँले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताउनुभयो ।

खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ ।
यही माघ १८ गतेभित्र देशका ७७ जिल्लाका ३ सय खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने बताएको छ ।

क-कसले पाउँछन् ?

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

तयारी पूरा

बुधवारबाट सुरु हुने कोरोनाभाइरस विरुद्धको खोप अभियानका लागि तयारी सम्पन्न’ भएको अधिकारीहरूले जनाएका छन्।

नेपालमा आजबाट सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान, प्रधानमन्त्रीले शुभारम्भ गर्ने - Nepal Page Nepal Page

बुधवार बिहान १० बजे यसअधि पनि खोप केन्द्र तोकिएका विभिन्न जिल्लास्थित अस्पतालहरूबाट कोरोनाभाइरसविरुद्धको खोप र खोप लगाइदिने जनशक्ति तयारी अवस्थामा रहनेछ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोखरेलका अनुसार हरेक अस्पताल तथा खोप केन्द्रले प्राथमिकताका आधारमा उपयुक्त व्यक्तिलाई खोपको पहिलो मात्रा दिने भएका छन्।

खोप अभियानका लागि मङ्गलवार एकैदिन भर्चूअल तथा प्रत्यक्ष कार्यक्रम गरी ७७ जिल्लाका झन्डै एक हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको बताइएको छ।
१० लाख मात्रा कोभिडका खोपहरू नेपाललाई निःशुल्क उपलब्ध गराएको कोभिशील्ड खोपबाटै अभियान सुरु हुँदैछ।

भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनिकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ।

नेपालमा प्रयोग गर्न लागिएको खोप २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने र त्यो अनुसारको व्यवस्था सबै स्थानमा भइसकेको अधिकारीहरूले जनाएका छन्
नेपालमा अहिले कोरोना भाइरस संक्रमितहरुको संख्या २ लाख ७० हजारभन्दाबढी पुगेको छ भने यसको कारण हालसम्म २ हजार १७ जनाको मृत्यु भएको छ । यस प्राणघातक भाइरसको संक्रमणमा परेका २ लाख ६४ हजार ८ सय २३ जना निको भएको सरकारी तथ्याङ्क छ।

सरकारले कोरोनाभाइरस विरुद्धको खोपको खरिदमा दातादेखि सबै क्षेत्रको सहयोग लिने भन्दै बनाएको खोप कोषमा हालसम्म स्वास्थ्य मन्त्रालयले दिएको रकमबाहेक अन्य रकम जम्मा नभएको अधिकारीहरूले बताएका छन्।

मन्त्रालयले पुस अन्तिम साता सार्वजनिक सूचना जारी गरेर खोप कोषमा योगदान गर्न सार्वजनिक अपील गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोग दिन चाहनेहरूका लागि भन्दै नम्बर सार्वजनिक गरेको थियो।

स्वास्थ्य सेवा विभागले हेर्ने गरी बनाइएको उक्त कोषमा उल्लेख्य रूपमै रकम आउने र त्यसले खोप खरिदमा सघाउने आशामा सरकारी निकायहरू देखिएका थिए।

तर रकम जम्मा गर्न सार्वजनिक सूचना जारी भएको झन्डै दुई साता पुग्न लाग्दा पनि उक्त कोषमा मन्त्रालयका अतिरिक्त अन्यत्रबाट रकम नआएको अधिकारीहरू बताउँछन्।

“सार्वजनिक सूचना जारी गरी रकम जम्मा गर्न आह्वान गरिएको थियो। त्यसमध्ये अहिलेसम्म स्वास्थ्य मन्त्रालयबाट ५० करोड जम्मा भएको छ। त्यसपछि अन्य विवरण आएको छैन,” स्वास्थ्य सेवा विभागका प्रमुख लेखा नियन्त्रक दिवाकर घिमिरेले भन्नुभएको छ।

Share Now

Leave a comment.