Prakash Adhikari January 27, 2021

काठमाडौं, १४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनको स्थितिले नेपाली कांग्रेसलाई प्रदेश सरकारमा चिठ्ठा पर्ने देखिएको छ । हाल नेकपाबाटै अविश्वासको प्रस्तावको सामना गरिरहेको वाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै खेमा तयार रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन्।

प्रचण्ड र माधव नेपाल समूहका नेताहरुले पनि आफ्नो पक्षबाट कांग्रेससँग त्यस विषयमा कुरा भएको बताउनुभएको छ। केन्द्रीय नेताहरु आफ्नो सरकार गिराएर प्रतिपक्षमा रहेको दललाई सरकार सुम्पिएको अपजस लिन तयार देखिएका छैनन् । त्यसैले दुवै खेमाका नेताहरुले प्रदेशस्तरमा नै कुराकानी मिलाउन आफ्ना प्रदेशतहका जिम्मेवार नेताहरुलाई अह्राएका छन् ।

नेकपाभित्रैबाट दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि सङ्कटमा परेको सरकार जोगाउन वा नयाँ बनाउन दुवै पक्षले कांग्रेसको साथ जुटाउनुपर्ने देखिन्छ।

एउटाले वाग्मती दिने अर्कोले समूह प्रदेश १

नेकपाभित्रैबाट दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि सङ्कटमा परेको सरकार जोगाउन वा नयाँ बनाउन दुवै पक्षले कांग्रेसको साथ जुटाउनुपर्ने देखिन्छ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीका अनुसार केही दिनअघि सभापति शेरबहादुर देउवाले दुवै प्रदेशका केन्द्रीय सदस्य र नेताहरूसँग प्रदेशहरूमा सम्भावित समीकरणबारे परामर्श गर्नुभएको थियो । वाग्मती प्रदेशबारेको छलफलमा सहभागी उनले भने, “सभापतिजीले पार्टीको हित र लाभलाई ख्याल गरेर अघि बढ्ने बताउनुभयो। दुवै पक्षले मुख्यमन्त्री दिन तयार रहेको बुझिन्छ।”

पार्टीले प्रधानमन्त्रीको कदमलाई ‘बदनियतपूर्ण, असंसदीय, असंवैधानिक र अलोकतान्त्रिक भनेकोले त्योसँग बाझिनेगरी नजाऔँ’ भन्ने राय धेरैले दिएको उनको भनाइ छ। त्यसको अर्थ प्रचण्ड पक्षसँग सहकार्य राजनीतिक हुने उनीहरूको तर्क हो।

“तर सभापतिजीले पार्टीको हित कसरी हुन्छ त्यो हेरौँ भन्नुभयो, हामीले पनि ठिक छ पार्टी हित कसरी हुन्छ त्यो पनि सोच्नुहोस् भन्यौँ,” नेताले जोशीले भन्नुभएको छ।

सभापति देउवासँग छलफलमा सहभागी अर्का नेता एवम् पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार धेरै नेताहरूले पार्टी हित हेर्ने भन्नुभएको बताउनुभयो।

“तर नेकपा अझै एउटै पार्टी छ र एउटालाई हटाएर आफ्नै अर्कोलाई मुख्यमन्त्री प्रस्तावित गरेका मात्र हुन्, त्यसैले कांग्रेस अहिले हौसिन हुन्न,” नेता महतले भन्नुभयो, “परिस्थिति अनुकूल भएमा सार्वजनिक रूपमा र दलीय रूपमा पार्टीको हित हेरेर निर्णय लिने हो।”

ओली पक्षले वाग्मती छाड्ने

कांग्रेस नेताहरूका अनुसार नेकपाको ओली समूहले वाग्मती प्रदेश छाडेर प्रदेश १ मा समर्थन खोजिरहेको छ।तर नेता सुवास नेम्वाङले त्यसबारे थाहा नभएको बताए।

“मुख्यमन्त्री र उहाँहरूकै टीमले प्रदेशमा कांग्रेस लगायत सबैसँग कुरा गर्ने भन्ने छ र उहाँहरूले नै कुरा गरिरहनुभएको छ”, नेम्बाड.ले भन्नुभयो ।

नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गर्दै वाग्मती प्रदेशसभामा प्रस्तुत अविश्वास प्रस्तावमा आउँदो साताबाट छलफल हुँदैछ।

प्रचण्ड-माधव नेपाल समूह प्रदेश नं १ दिन तयार

कांग्रेस नेताहरूका अनुसार प्रचण्ड र माधवकुमार नेपालको समूह भने वाग्मती लिएर प्रदेश नं १ को मुख्यमन्त्री कांग्रेसलाई दिन तयार देखिएको छ।

प्रचण्ड पक्षका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी र लुम्बिनी प्रदेशमा पनि मिलेर सरकार बनाउन सकिने भन्दै कांग्रेससँग ‘सल्लाह गरौँ न’ भन्ने प्रस्ताव राखेको जानकारी दिनुभएको छ।

“कांग्रेससँग सहकार्यको निम्ति अलिकति अझै लचकता प्रदर्शन गर्न पनि हामी तयार भनेका छौँ,” मुख्यमन्त्री दिने वचन दिएको हो ? भन्ने प्रश्नमा नेता श्रेष्ठले भन्नुभयो, “तपाईँहरूको भनाइ के हो ल्याउनुहोस्, भनेका छौँ, सकेसम्म चारवटै प्रदेशबारे कुरा गर्दा राम्रो हुन्छ तर अहिले दुईवटा प्रदेशमा सहकार्यको निम्ति सल्लाह गर्दै नसकिने पनि होइन।”

मुख्यमन्त्रीमा प्रस्तावित शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुनुहुन्थ्यो उहाँ एकीकृत पार्टीमा उच्च तहकी महिला नेत्री हुनुहुन्छ ।

त्यसैले प्रचण्ड पक्षको नेकपा प्रदेश नं १ नेपाली कांग्रेसलाई दिएर भए पनि शाक्यलाई मुख्यमन्त्री बनाउन चाहेको र ओली पक्ष आफ्नी कट्टर आलोचक शाक्यकै प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि प्रदेश नं १ आफूले राख्न चाहेको कांग्रेस नेताहरूको बुझाइ पाइन्छ।
तर नेताहरूका अनुसार सभापति देउवाले चाहे जस्तो ओली पक्षसँग सहकार्य गर्न सर्वोच्च अदालतले निर्णय दिएमा कांग्रेसलाई सजिलो हुनेछ।

सम्भवतस् आआफ्नो राजनीतिक अप्ठेरो र सम्भावित परिणामलाई ख्याल गरेरै दलहरूले अविश्वास प्रस्ताव टुङ्गो लगाउने प्रक्रियालाई लम्ब्याइ रहेको ठानिएको छ।(स्रोत : बीबीसी)

Share Now

Leave a comment.