Prakash Adhikari January 27, 2021

 

काठमाडौं, १४ माघ । शहिद सप्ताहको अवसर पारेर संविधान निर्माताहरु संविधानको रक्षाको निमित्त सडकमा उत्रिने भएका छन् ।

विघटित प्रतिनिधिसभाका सांसद र दुईवटै संविधान सभाका सदस्यहरुले आजदेखि एक हप्तासम्म माइतीघरमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।

२००६ सालमा नेपाली जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले नेपाली जनताले निर्वाचित गरेको विधायिकाले संविधानको निर्माण गर्ने कुरा उल्लेख गर्नुभएको थियो । २०६२र ६३ को जनआन्दोलन सफल भएपछि ल्याएको अन्तरिम संविधानले संविधान सभाको निर्वाचन गर्ने र संविधान सभाको पहिलो बैठकले राजतन्त्रको वारेमा निर्णय गर्ने प्रावधान राखेपछि २०६४ सालमा भएको निर्वाचनपछि २०६५ जेठ १५ मा बसेको संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको उन्मूलन गरी गणतन्त्र स्थापनाको निर्णय गरेको थियो ।

पहिलो संविधानसभाले आफ्नो ५ बर्षे कार्यकालमा संविधानलाई टुंगोमा पुर्याउन नसके पनि धेरै विषयबस्तुहरुको खाका तयार पारेको थियो र २०७० सालमा भएको दोस्रो संविधानसभाले त्यसै खाका लाई आधार बनाएर दुईबर्ष नपुग्दै नयाँ संविधान निर्माण गरी जनताको रायसुझाव समेत समेटेर बनाएको संविधान २०७२ असोज ३ गते प्रथम राष्ट्रपति डा. रामबरण यादवबाट संविधानसभाको बैठकमा जारी गरिएको थियो ।

नेपाली जनताका निर्वाचित प्रतिनिधिहरुको संविधान सभाले सम्पूर्ण जतताको सहभागितामा बनाएको संविधानले अंगीकार गरेको राजनीतिक स्थायित्वको सिद्धान्तलाई समाप्त पार्दै संविधानले नदिएको अधिकार उपयोग गरेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि संविधानको रक्षाका लागि संविधान निर्माताहरु सडकमा आउन अग्रसर भएका हुन् ।

प्रधानमन्त्री के, पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरोधमा रहेका संघीय तथा प्रदेश सांसद र तत्कालीन संविधान सभाका सदस्यहरूले आज (बुधबार) देखि माइतीघरमा धर्ना दिने भएका छन्। माघ १४ गतेबाट सुरु हुने धर्ना कार्यक्रम दिउँसो केही घण्टा रहने बताइएको छ । धर्ना माघ २१ गतेसम्म दिनहुँ चल्ने बताइएको छ।

Share Now

Leave a comment.