Prakash Adhikari January 31, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), १८ माघ (एजेन्सी) । संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई त्यहाँको नागरिकता दिने भएको छ।

आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको छ।

कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई सरकारले विदेशीलाई पनि नागरिकता दिने नयाँ व्यवस्था ल्याएको हो।

यूएईका उपराष्ट्रपति एवं शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले भन्नुभएको छ, ‘लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायतका क्षमतावन् व्यक्तिहरुलाई यूएईको नागरिकता दिइने छ।’

साथै ती व्यक्ति तथा तिनको परिवारका सदस्यले दोहोरो नागरिकतासमेत राख्न पाउने उहाँले बताउनुभएको छ।

यूएईको नागरिकताका लागि अलग्गै आवेदन दिनुपर्दैन। त्यसका लागि यूएईका शाही परिवार र सरकारी अधिकारीले नागरिकता दिइने विदेशी नागरिकको नामावली तयार पार्नेछन् भने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्नेछ।

 

Share Now

Leave a comment.