काठमाडौं, १८ माघ । संवैधानिक परिषदका तीन जना पदाधिकारी मात्र बसेर गरिएका विभिन्न संवैधानिक निकायमा ३९ जना पदाधिकारीहरुको सुनुवाईका लागि संसदमा पठाइएका नामहरु प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिनुभएको छ।
परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। ती नाम संसदीय सुनुवाइको निम्ति संसद्मा पठाइएको थियो।
संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश ल्याएर परिषद्का कायम रहेका पदाधिकारीहरुको बहुमत सदस्यको उपस्थितिमा बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो।
संवैधानिक परिषद्को अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकमा प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष सदस्यको रूपमा उपस्थित हुनुहुन्प्थ्यो।
संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा प्रस्तावित उम्मेदवारको नियुक्तिको लागि कुनै बाधा नपुग्ने व्यवस्था सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा उल्लेख छ।
ती नियुक्तिबारे सचिवालयलाई जानकारी गराइएको ४५ दिन माघ २० गते पुग्दैछ।
सभामुखको पछिल्लो निर्णयपछि सरकार र प्रतिनिधिसभाबीच अर्को मतभेद चर्किने देखिएको छ।
कृष्णबहादुर महाराले सभामुख पदबाट राजीनामा दिएपछि नेकपाको माओवादी पक्षबाट सापकोटा सभामुख निर्वाचित हुनुभएको थियो।
उहाँ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिनुहुन्छ।

पत्र : सिफारिससम्बन्धी विवाद
संवैधानिक परिषद्ले नयाँ अध्यादेशअनुसार बहुमत सदस्यको उपस्थितिमा बैठक बसी मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गर्यो।
उक्त बैठकमा सभामुखबाहेक विपक्षी दलका नेता पनि अनुपस्थित हुनुहुन्थ्यो।
अध्यादेशलाई लिएर प्रधानमन्त्रीको दलको असन्तुष्ट समूह र प्रमुख विपक्षी दुवैले चर्को विरोध गरिरहेका बेला भएको उक्त निर्णय संवैधानिक परिषद्को बैठक भएको पाँचदिन पछि प्रतिनिधिसभा विघटन भएको दिन मात्रै सार्वजनिक गरिएको थियो।
पौष ५ गते अपराह्न २ :१५ बजे नियुक्तिको सिफारिस संसद् सचिवालयमा दर्ता गराइएको थियो।
त्यसको केही बेरपछि अपराह्ण २ : २१ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले प्रतिनिधिसभा विघटन भएको सूचना जारी गरेको थियो ।
संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई चुनौती दिँदै दायर रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छन्।
प्रधानमन्त्री ओलीले पार्टीभित्रका आफ्ना स्थायी विरोधी देखिनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई तह लगाउन आफ्ना आज्ञाकारी प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउनु भएको र संसदको सार्वजनिक सुनुवाई समितिबाट संंवैधानिक परिषद्बाट सिफारिस भएका पदाधिकारीहरुको नाम अनुमोदन हुने सुनिश्चित नभएपछि पौष ५ गते प्रतिनिधिसभा नै विघटन गरिदिनुभएको थियो ।
अख्तियारको प्रमुख आयुक्तमा सिफारिस हुनुभएका राई नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदको ६ अर्ब ५९ करोड घोटाला, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण राष्ट्रिय परिचय पत्रको टेण्डर लगायतका ठूला काण्डहरुमा मुछिनुभएको छ । उहाँका विरुद्धमा परेको उजुरीमा छानवीन गरिरहेको अख्तियारलाई प्रधानमन्त्रीले विशेष जोड दिएर पूर्व आयुक्त नवीन घिमिरेलाई फाइल तामेलीमा राख्न आदेश दिनुभएको थियो । उहाँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ र वाइडबडीको अनुसन्धान टुंगिएको छैन् । यसमा संसदको सार्वजनिक लेखा समिति र अन्तराष्ट्रिय सम्बन्ध समितिले राई कर्मचारी सञ्चय कोषको अध्यक्ष रहदा कोषका मुख्य प्रशासक कृष्ण आचार्यको सहमति नहुँदा नहुँदै उहाँको अनुपस्थितिमा सञ्चालक समितिको बैठक बसाएर निगमलाई २४ अर्बको आधा १२ अर्ब कर्जा स्वीकृत गरिएको थियो ।


कुन आयोगमा कसेको नाम सिफारिस भएको छ ?
-
अख्तियार आयोग
अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जय बहादुर चन्द
किशोर कुमार सिलवाल
निर्वाचन आयोग
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
मानवअधिकार आयोग
अध्यक्ष तपबहादुर मगर
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली बस्नेत थापा
मिहीर ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष कमला कुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्या कुमारी सिन्हा
दलित आयोग
देवराज विक
मीना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
मन प्रसाद खत्री अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान
आदिवासी आयोग
रामबहादुर थापा उदयपुर अध्यक्ष
मीन श्रीस मगर गुल्मी
मिनसिंह लामा नुवाकोट
रीना राना स्याङ्जा
चरण राई उदयपुर
मधेसी आयोग
जीवक्ष साह
रेणु देवी शाह
विजय गुप्ता
थारु आयोग
विकास चौधरी
वविता चौधरी
सुबोध सिंह थारु
भोला राम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग
(बीबीसीको सहयोगमा)