Prakash Adhikari January 31, 2021

सात दोबाटो(ललितपुर), १८ माघ । सेयर खरिद बिक्रीमा टी प्लस टू कार्यान्वयन हुँदा खरिद आदेश दिएको सेयर खरिदमा लाग्ने रकमको २५ प्रतिशत रकम धितोपत्र दलाल व्यवसायीलाई अग्रिम भुक्तानी गर्नुनपर्ने तथ्य नेपाल धितोपत्र बोर्डले स्पष्ट पारेको छ ।

धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वय नहुँदा कायम हुने अनुमानित रकमको कम्तिमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सिर्जना भएको भ्रम निवारण गर्न बोर्डले आइतबार यस सम्बन्धमा प्रेस विज्ञप्ति प्रकाशित गरेर स्पष्ट पारेको हो ।

बोर्डले माघ १४ गते सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस २ (T+2)मा हुनुपर्ने व्यवस्था लागू भएको बताएको छ ।

उक्त व्यवस्था कतिपय धितोपत्र दलाल व्यवसायीहरुले पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न समेत निर्देशन दिएको छ ।

उक्त व्यवस्था कार्यान्वयन गराउन बोर्डले परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र बिक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी समेत गराएको छ ।

बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै उपलब्ध गराउन प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्चतहका कर्मचारी, नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल भएको पनि जनाएको छ ।

बैठकमा धितोपत्र कारोबारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोबार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको बोर्डले जनाएको छ ।

विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न समेत बोर्डले जनाएको छ ।

बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागिबोर्डबाट निर्देशन भइसकेकोले टी प्लस टू कार्यान्वयनमा थप सहजता हुने समेत बोर्डले बताएको छ ।

Share Now

Leave a comment.