
अबुधाबी(संयुक्त अरब इमिरेट्स), १८ माघ । संयुक्त अरब इमिरेट्समा भएको टी १० लिग अन्तर्गत नेपाली बलर करण के.सी.ले वेष्ट इण्डिजका विश्व चर्चित खेलाडी क्रिस गेलको विकेट लिएका छन्।
लिगमा पुणे डेभिल्स टिमको प्रतिनिधित्व गरिरहेका करणले खेलको चौथो ओभरको पहिलो बलमा गेललाई बोल्ड गरेका थिए ।
खेलमा पुणेले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा टिम अबुधाबीले ३ ओभरमा ४२ रन बनाएर १ विकेट गुमाएको अवस्थामा करण बलिंग गर्न आएका थिए।
९ रन बनाएर ब्याटिंग गरिरहेका गेललाई करनले पहिलो बलमा बोल्ड गर्दै पुणेलाई खेलमा हावी बनाएका हुन्। गेलले करनको बललाई पुल गर्न खोज्ने क्रममा ब्याटको भित्री किनारामा लागेर बोल्ड भएका थिए।
लिगमा तेश्रो खेल खेलिरहेका नेपाली खेलाडी करणले लिएको यो पहिलो विकेट हो। यस अघि दुई खेल खेल्दा उनले विकेट लिन सकेका थिएनन्।
गेललाई मैदानबाट धपाए पनि करणको लागि यो स्पेल महंगो भयो । ओभरको दोश्रो बलमा लुक राइटले उनलाई चौकाले स्वागत गरे भने चौथो, पाँचौ र छैठौ बलमा पनि जोए क्लार्कले लगातार चौकाको सलामी चढाए।
यस अघि इनिंग्सको दोश्रो ओभरको पाँचौ बलमा करनले पल स्टरलिंगको क्याच छोडेका थिए । उनले अगाडि डाइभ गरे पनि बल समाप्त सकेनन्। उनको आलोचना गर्नेहरु क्रिसको विकेट लिएपछि भने ठण्डा भएका थिए ।
प्रतियोगिता अन्तर्गत करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए भने दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चेका थिए।
खेलमा टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।
पुणेको लागि ओपनर टम कोहलरले सर्वाधिक ६१ रन बनाएका थिए भने चाडविक वाल्टनले २३ रन तथा डेभोनं थोमसले २१ रन बनाए।
पुणेलाई रोक्न टिम अबुधाबीका बलर ओबेद म्याकोयले २ विकेट लिए भने रोहन मुस्तफाले १ विकेट लिए।