
नापिताओ(म्यानमार), १९ माघ(बीबीसी) । म्यानमारमा फेरि सैनिक कू भएको छ । सैनिकहरुले म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेका छन् । यसको पुष्टि एनएलडीका पार्टी प्रवक्ता म्यो न्यूनले गर्नुभएको छ ।
सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।
गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।
सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।
अन्य पनि पक्राउ
पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन्।
‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु’, प्रवक्ता न्यूनले बताउनुभएको छ। उहाँले आफूलाई पनि पक्राउ गरिने ठानेको बताउनुभयो।
बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताउनुभएको छ।
सडकमा सेनाको उपस्थिति
बीबीसी बर्मा सेवाका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।
सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।
सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।