काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा नेपाली कांग्रेसका भातृ संगठनहरुले आज देशका ७७ वटै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्दैछन् ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा गत पौष ५ गते बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभाको विघटन गरी आगामी बैशाख १७ र २७ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।
सो निर्णय सार्वजनिक हुनेवित्तिकै नेपाली कांग्रेसले पदाधिकारीहरुको बैठकबाट यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गर्दै आइरहेको छ । नेपाली कांग्रेसले गत पौष १३ गते प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा, पौष २५ गते प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७ सय ५३ पालिकाहरुमा र माघ ८ गते सबै वडाहरुमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कम्युनिष्ट सरकारको संविधान उल्लंघन गरी प्रतिनिधिसभाको हत्या गर्ने तानाशाही कदमको विरोध गर्दै नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा, विघटित प्रतिनिधिसभाको पुनस्थापना र जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा गर्दै संगठनहरुलाई क्रियाशील बनाउने उद्देश्यले नेपाली कांग्रेसले आजको विरोध प्रदर्शन भातृ संगठनहरुको अगुवाईमा गर्ने तयारी गरेको हो ।
देशव्यापी विरोध प्रदर्शनको पूर्वसंध्यामा नेपाली कांग्रेसका १३ वटा भातृ संगठनहरुका सभापतिहरुले एक अपील प्रकाशित गदैं सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका समस्त नेताहरु, कार्यकर्ताहरु,सम्पूर्ण भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरु, नेपाली कांग्रेसका समर्थक र शुभचिन्तकसहित लोकतन्त्र र वर्तमान संविधानप्रति आस्थावान समस्त नेपालीहरुलाई अनुरोध गर्नुभएको छ ।
आजको संयोग कस्तो परेको छ भने तात्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ कै दिन नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई अपदस्त गरी राज्यसत्ता आफ्नो हातमा लिनुभएको थियो । त्यसलाई फिर्ता लिन सात राजनीतिक दलहरुले २०६२।६३ मा संयुक्त जनआन्दोलन गर्नुपरेको थियो ।
नेपालमा जस्तै प्रजातान्त्रिक आन्दोलनमाथि कुठाराघाट हँुदै आएको मित्रराष्ट्र म्यानमारमा त्यहाँको सैनिकले पुनः कू गरेको छ । नेपाली कांग्रेसका नेताहरुले आजको विरोध प्रदर्शनको मञ्चहरुबाट त्यसको पनि विरोध गर्ने छन् । बर्माको प्रजातान्त्रिक आन्दोलनको नेपालको प्रजातान्त्रिक आन्दोलनसंग साइनो जोडिएको छ । बी.पी. कोइरालाले २००७ सालको सक्रान्ति सुरु गर्दा बर्माबाट हातहतियार मगाउनुभएको थियो ।
नेपालको जनक्रान्ति सफल भएपछि ती हतियारहरु बंगलादेशको स्वतन्त्रता संग्राममा त्यहाँका क्रान्तिकारीहरुलाई दिइएको थियो ।
विरोध प्रदर्शनको पूर्वसंध्यामा १३ भातृ संगठनबाट निकालिएको अपीलमा भनिएको छ, ‘संसद विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’
सो अपीलमा नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका सभापति टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका सभापति भानुभक्त सिग्देल, नेपाल दलित संघका सभापति मीनबहादुर विश्वकर्मा,नेपाल भूतपूर्व सैनिक संघका सभापति कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सभापति भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका सभपति अब्दुल सतार, नेपाल तामाङ्ग संघका सभापति कवेलबहादुर लामा,नेपाल राष्ट्रिय मगर संघका सभापति ओम थापा मगर र नेपाल ठाकुर समाजका सभापति अनिरुद्ध्रप्रसाद ठाकुरले हस्ताक्षर गर्नुभएको छ ।


















